विघटनको संघारमा एकीकृत समाजवादी : एक्लिँदै माधव नेपाल ?
काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पुराना कम्युनिस्ट नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेपछि अध्यक्ष माधवकुमार नेपाल यतिबेला गहिरो तनावमा छन् ।
शनिबार पत्रकार सम्मेलन गरी न्यौपानेले नेपाललाई पिँध नभएको बल्टिनको संज्ञा दिँदै एकीकृत समाजवादीबाट अलग भएपछि उनी गहिरो चिन्तामा परेका हुन् ।
२०२६ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहेका न्यौपानेले पार्टी परित्याग मात्र गरेनन् उनले केही समयमा त्यहाँबाट ठूलो समूहमा नेता तथा कार्यकता एमालेमा फर्किने दाबी गरे ।
‘जति पटक बाल्टिन इनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकीकत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटीका कतिपय कार्यकर्ताको हालत यस्तै छ। सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरेपनि नभरिने’, उनको आरोप छ ।
माघ २१ र २२ को केन्द्रीय कमिटीको बैठकमा आफूले ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको तर त्यसमा कुनै पनि छलफल नभएको उनले आरोप लगाए । पुरानै कम्यूनिस्ट पार्टीको विधि, प्रक्रिया र सांगठनिक ढाँचा अनुरुप पार्टीको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसअघि १४ चैतमा उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य जुडामणि जंगलीले नेतृत्वको कार्यशैली र पार्टी सञ्चालनप्रति तिव्र असहमति जनाउँदै पार्टी परित्याग गरिसकेका छन् ।
‘एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारलाई भत्काएर दलाल नोकरशाही, पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने कांग्रेसलाई सत्ता र शक्तिमा पुर्याएको राजीनामा पत्रमा उल्लेख गरेका छन्’, नेपालमाथि उनीहरूको आरोप थियो ।
पार्टी गठन भएको १९ महिनामै पदाधिकारीहरूले नै धमाधम अलग हुन थालेपछि एकीकृत समाजवादी विघटन हुने अवस्थामा पुगेको हाे ।
१० पुसमा एमाले र माओवादी गठबन्धनमा सरकार गठन भएपछि फेरी वामपन्थीबीच सहमति, सहकार्य र एकता हुने विश्वासमा रहेका उनीहरूले सत्ता समीकरण भत्किएपछि एमालेसँग मिल्न नेतृत्वमाथि दबाब दिएका थिए । तर नेपालले राष्ट्रपति निर्वाचदेखि सत्ता समीकरण बदल्ने काममा कांग्रेसलाई साथ दिएपछि उनीहरू नेतृत्वप्रति आक्रोसित भएका हुन् । पार्टी स्थापाना कालदेखि नै नेपाललाई बलियो साथ दिएका न्यौपाले लगायत नेताहरूको साथ गुमाएपछि अहिले नेपाल पार्टीभित्र एक्लिँदै गएका छन् ।
एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सचिव रामकुमारी झाँक्री, प्रेम आले, किसनकुमार श्रेष्ठ लगाएत दर्जौनौं नेताहरू पनि नेतृत्वसँग सन्तुष्ट छैनन् । गत साल मन्त्रीबाट बर्हिगमन हुनुपरेपछि नेपालसँग झाँक्रीको बोलचाल नै बन्द भएको छ ।
तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीको कार्याशैली निरंकुश तानाशाही भएको आरोप लगाउँदै ९ भदौ, २०७८ मा एमालेबाट माधव–झलनाथ समूह अलग भएका थिए । पार्टी विभाजनमा नेपाललाई ५४ जना केन्द्रीय सदस्य र २७ जना सांसदले साथ दिएका थिए । कांग्रेस र माओवादीसँग मिलेर तीनै तहको निर्वाचनमा एमालेलाई पत्तासाफ बनाउने रणनीति साथ नेपाल पार्टीबाट अलग भएका थिए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एसले देशैभरी लज्जास्पद हार व्यहोर्यो । त्यसको सोझो फाइदा कांग्रेस र मओवादीले लियो । त्यतिबेला निर्वाचनमा कांग्रेसको भूमिकाप्रति वरिष्ठ नेता खनालले निकै आक्रोस पोखेका थिए ।
संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेससँग भन्दा पनि वामपन्थीबीच तालमेल गरी निर्वाचनमा जानुपर्ने उनले आवाज उठाएका थिए । नेताहरूको चर्को दबाबकाबीच संघ र प्रदेश निर्वाचनमा कांग्रेस र माओवादी सहितका दलहरूसँग सहकार्य गरेको नेकपा एसले तीन प्रतिशत मत पनि कटाउन सकेन । प्रत्यक्षतर्फ जम्मा १० सिट जितेको थियो । चुनावी परिणामबाट निराश भएका नेता तथा कार्यकताले एमालेसँग एकता गर्न नेतृत्वमाथि निरन्तर दबाब दिएका थिए ।
त्यस्तै पार्टी सञ्चालन, नीति तथा सिद्धान्त र कार्यक्रम लागु गर्न पनि नेतृत्वको कार्यशैली ठीक नभएको उनीहरूको आरोप छ । एमालेमा रहँदा ओलीलाई नैतिकता, विधि र विधानको कुरा उठाएका नेपाल पार्टी विभाजन प्रश्चात्ः ओलीकै पथमा नेपल हिड्न खोजेपछि नेपाल एक्लिँदै गएका हुन् । अहिले एमालेसँग न युवाहरूले भविष्य देखेका छन्, नत उनलाई पुराना नेताहरूले नै साथ दिने अवस्था छ । पार्टीभित्र र बाहिर चौतर्फी घेराबन्दीमा परेका नेपालको कार्यशैलीका कारण पार्टी नै विघटनको अवस्थामा पुगेको नेताहरूको आरोप छ ।
को हुन् न्यौपाने ?
२०२८ मा सीपी मैनालीको नेतृत्वमा गठन भएको को–अर्डिनेसन केन्द्र(कोके)का सदस्य थिए न्यौपाने । त्यतिबेला उनीसहित अध्यक्ष नेपाल, झलनाथ खनाल, अमृत बोहरा, मणिलाल राई र गोविन्द न्यौपाने मिलेर कोके गठन गरेका थिए ।
२०३५ साल पुस ११ गते तत्कालीन पुष्पलाल श्रेष्ठको मुक्तिमोर्चा समूहका मोदनाथ प्रश्रीत, मदन भण्डारी, जीवराज आश्रीत र कोकेबीच पार्टी एकता भइ नेकपा(माले) गठन गरेका थिए । भोजपुर जिल्ला गोगनेमा मिति २००७ साल जेष्ठ २२ न्यौपाने जन्मेका थिए ।
२०२६ सालमा सुस्ता महेशपुर, कालापानी लगायत नेपालको भू–भागमा भारतीय बम अतिक्रमण विरुद्ध राष्ट्रवादी नारा दिँदै उनले सक्रिय राजनिति सुरू गरेका थिए । २०२८ सालदेखि गरिब, निमुखा, सामाजिक तथा सांस्कृतिक अत्याचारको विरुद्धमा पञ्चायती सत्ता परिवर्तन गर्न भूमिगत भए । २०३२ साल जेष्ठ २८ गते को–अर्डिनेशन केन्द्रका संस्थापक सदस्य भए । २०३५ साल पुष ११ गते नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी–लेनिनवादी)को संस्थापक केन्द्रीय सदस्य भए ।
२०४७ सालमा मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र मनमोहन अधिकारीने नेतृत्व गरेको नेकपा (माक्सवादी) मिलेर नेकपा (एमाले) को केन्द्रीय सदस्य भए । २०४८ साल तत्कालीन बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य विजयी भए । २०५४ मा श्रम मन्त्री भए । नेकपा (एमाले) पार्टीको स्थायी कमिटी सदस्य भए । २०७४ मा नेकपाको नेतृत्वमा रहेर सक्रिय भूमिका खेलेका थिए । गत भदौमा पार्टी विभाजन भएपछि उनी एकीकृत समाजवादीमा तेस्रो बरियातामा रहेका थिए ।
यस्तो छ नेपालमाथि न्यौपानेको आराेप
राष्ट्र र राष्ट्रीयताको पक्षमा वकालत गरी एक्काइसौं सताब्दीको समाजवादी वैज्ञानिक कम्यूनिष्ट पार्टिको परिकल्पनामा म नेकपा एकिकृत (समाजवादी) पार्टिमा जिम्मेवारी लिएँ सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र प्रक्रिया विपरित दलमा नेताहरू फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टी नेतृत्व फस्यो।
पार्टीको निति र विधि विपरित विद्रोह गरेर बनेको पार्टी भित्र प्रक्रिया र पद्दतिलाई अनुसरण गर्दै व्यवस्थित मर्यादित होला भन्ने ठानेको थिएँ। त्यसैले स्थानीय निर्वाचन देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म आउदा नेकपा एकिकृत समाजवादीले परिचय दियो तर पहिचान दिएन, सदैव आ–आफ्नो स्वार्थमा निहित भएको आभास मलाइ लाग्यो। विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धारबाट अलगथलग भई बस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुर्इचार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउदै हिड्नु भनेको आफ लाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो।
जति पटक इनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकीकत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटीका कतिपय कार्यकर्ताको हालत यस्तै छ। सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरेपनि नभरिने ।
मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए। हाल सम्म कुनै पनि छलफल नभएकोले सो पार्टीमा म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टिको साधारण सदस्य समेत तथा सम्पूर्ण पार्टी जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।
ताजा अपडेट
-
प्रहरी आफैं तस्करीमा लागेपछि..
-
कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
डिजिटल लाइसेन्स प्रणाली सुरु, अब स्मार्ट फोनबाट ट्राफिक प्रहरीले गर्नेछन् चेकजाँच
-
आपराधिक समूहसँग मिलेर ३० लाख असुल्ने इन्सपेक्टर निलम्बित
-
मन्त्री भण्डारीले लिए खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
प्रतिक्रिया