NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्तो छ प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीचको अन्तरंग कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४० वर्षदेखि दोस्ती रहेका पूर्वसहकर्मी लेखराज भट्टलाई भेट्न कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित उनकै निवास पुगे ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आइतबार सुदूपश्चिम गएका प्रचण्ड धनगढी विमानस्थलबाट सिधै भेट्ट निवास गएका हुन् ।

एमालेका सचिवसमेत रहेका प्रधानमन्त्री सुदूरपश्चिम आउने थाहा पाएपछि प्रचण्डलाई घरमा आउनका लागि निम्तो दिएका थिए । उनको निम्तोलाई सहर्ष स्वीकार्दै विहान ११ बजे प्रधानमन्त्री प्रचण्ड भट्ट निवास पुगे । त्यहाँ प्रधानमन्त्री करिब १५ मिनेट बसेको उनले जानकारी दिए । प्रचण्डसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध भएकाले आफ्नो घरमा आउँदा खुशी लागेको उनले बताए ।

‘प्रधानमन्त्रीज्यू बिहान ११ बजेतिर घरमा आउनुभएको थियो । आफू बसेको कोठा अवलोकन गर्नुभयो । करिब १५ मिनेट बसाइमा उहाँले चिया पिएर कार्यक्रममा जानुभयो’, उनले भने ।

भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए ।

‘यहाँमाथि म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ,’ उनले भने ।

३५ सालतिर पार्टी संगठनको काममा प्रचण्ड सुदूरपश्चिम गएको बेला भट्ट निवासमा गएर बसेका थिए । प्रचण्डसँग विगतको सम्बन्धको स्मरण गर्दै भट्टले उहाँलाई आफ्नै परिवारको सदस्य जसरी व्यवहार गरेको र उहाँले पनि आफ्ने घर ठानेर बस्ने गरेको बताए ।

‘संगठन निर्माणको प्रचण्ड धेरैपटक हाम्रो घरमा बस्नुभएको छ । ४० वर्षअघि उहाँ बसेको कोठमा माथि छ’, विगत सम्झँदै भट्टले भने, ‘आफ्नै घर ठानेर उहाँ बस्नुहुन्थ्यो र हामीलाई पनि उहाँ आफ्नै परिवारको सदस्य जस्तै लाग्थ्यो ।’

उनका अनुसार बसाइको क्रममा शिष्टाचार कुराकानी बाहेक राजनीति विषयमा प्रवेश नभएको जिकिर गरे ।

‘एक महिनाअघि सुदूरपश्चिममा मेडिकल कलेज खोल्नका लागि प्रधानमन्त्रीलाई भेट्न डेलीगेसन गएका थियौं । त्यस विषयमा केही कुराकानी भयो । बाँकी परिवारको हालखर बुझ्ने काम भयो । राजनीतिमा विषय प्रवेश नै भएन’, उनले भने ।

तत्कालीन नेकपा विघटनपछि एमालेमै बसेका भट्टलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनसहित चार जना पूर्वमाओवादी सांसदका पद गुमेको थियो । त्यसपछि प्रचण्डविरूद्ध उनै निकै आक्रामक अभिव्यक्ति दिँदै आएका थिए । मंसिरमा भएको निर्वाचनमा कैलाली–४ बाट उनी पराजित भए । उनले वामपन्थीबीच सहकार्य र एकता आवश्यक भएपनि तत्काल माओवादीसँग एकता हुन नसक्ने बताए ।

‘वामपन्थीबीच सहकार्य र एकता आजको आवश्यकता हो तर तत्काल त्यो सम्भावना देखिँदैन । पूर्वमाओवादीबीच एकता हुने सम्भावना पनि देखिँदै । यद्यपि द्वन्द्वकालीन मुद्दामा भने एक भएर जान सकिन्छ । त्यसबारे मैले बोल्दै आएको पनि छु’, उनले भने ।
१० वर्ष लामो सशस्त्र विद्रोहका बेला प्रचण्डलाई निकै सहयोग गरेका उनले एमाले र माओवादीबीच एकता भएपछि भीम रावलाई सुदूरपश्चिमको इन्चार्ज बनाएपछि प्रचण्डसँग चिढिएका थिए ।

यसअघि गत वर्ष वैशाखको दोस्रो साता धनगढी विमानस्थलमा दुई नेताबीच भेट हुँदासमेत बोलचाल भएको थिएन । त्यतिबेला विशिष्ट कक्षको एउटा छेउमा प्रचण्ड पत्रकारसँग गफिँदै गर्दा अर्को छेउमा रहेका भट्टले प्रचण्डलाई न सामान्य शिष्टाचार गरेका थिए न त बोलचाल नै गरेका थिए । त्यतिबेला झन्डै १५ मिनेट उनीहरू आमुन्नेसामुन्ने बसेका थिए । भट्ट आफ्नो विमान उड्ने समय भएपछि एक छेउबाट बाहिरिएका थिए भने प्रचण्ड आफ्नै कार्यक्रम स्थतलतर्फ गएका थिए ।