NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रकम लेनदेन प्रकरणबारे संसदीय छानविन समिति बनाउन कांग्रेस सांसदको माग

काठमाडौं। कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियो प्रकरण सम्बन्धमा छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री बन्नकै लागि एउटा व्यवसायीसँग रकम माग्नु लाजमर्दो विषय के हुन सक्छ भन्दै प्रश्न गरे ।

‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ रु’, संसदमा उनले प्रश्न गरे ।

सांसद श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने कोर टिमले २ करोड रुपयाँ मागेको जिकिर गर्दै प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडियो प्रकरणबारे सर्वत्र चर्चा भइरहेको छ । अडियो सार्वजनिक भए लगत्तै रास्वपाले ७२ घण्टाभित्र कारवाही गर्ने गरी श्रेष्ठलाई निलम्बन गरिसकेको छ ।