NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यस्तो छ सांसद ढाकामाथि कारवाही कार्यतालिका

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड डिल गरेका सांसद ढाकाकुमार श्रेष्ठले स्पष्टिकरण बुझाएका छन् । सांसद श्रेष्ठले सोमबार रास्वपाको केन्द्रीय कार्यालय सचिव शुभराज चित्रकारमार्फत स्पष्टिकरण पत्र बुझाएका हुन् ।

सांसद श्रेष्ठले बुझाएको स्पष्टिकरण पत्र अब अनुशासन समितिलाई जानेछ । अनुशासन समितिले आजै पत्र पाउने पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले नेपालवाचलाई बताए ।

उनका अनुसार अनुशासन समितिले सांसद श्रेष्ठमाथि छानविन सुररू गरिसकेको छ । स्पष्टिकरण पत्र प्राप्त भएपछि त्यहाँ रहेको विवरणसमेतका आधारमा छानविन समितिले अबको ४८ घण्टाभित्र पार्टीलाई छानविन प्रतिवेदन बुझाउनेछ । अडियो सार्वजनिक भएपछि आइतबार नै सभापति रवि लामिछानेले ७२ घण्टाभित्र छानविन गर्न अनुशासन समितिलाई निर्देशन दिएका थिए । त्यसमध्ये २४ घण्टा स्पष्टिकरण माग गर्दा सकिएको छ ।

अनुशासन समितिले स्पष्टिकरण माग गरेको २४ घण्टा पुरा भएको छ । अब समितिले आइतबार समेतको हिसाब गरी ७२ घण्टाभित्र रिर्पोट दिनेछ ।

छानविन प्रतिवेदन पार्टीमा पेश भएपछि केन्द्रीय समितिले सांसद श्रेष्ठमाथि कारवाही उपर निर्णय लिने पार्टी उपसभापति डोलप्रसाद अर्यालले बताए ।