NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ‘कोर टिम’ बारे सदस्यहरूले प्रश्न उठाउने

काठमाडौं । रकम लेनदेन प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको कारवाही सम्बन्धमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।

सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि रविका कोर टिमले २ करोड मागेको भन्दै सो रकम जोहो गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहयोग मागेका थिए । उक्त अडियो सोमबार मिडियाबाट सार्वजनिक भएपछि रास्वपाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र श्रेष्ठलाई कारवाही गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

अडियोबारे छानविन गर्न आनुशासन समितिलाई रविले निर्देशन दिएका थिए । रविको निर्देशन लगत्तै भरतमणि देवकोटा संयोजक रहेको समितिले श्रेष्ठसँग एक घण्टा लामो बयान लिएर प्रतिवेदन रविलाई बुझाइसकेको छ ।

सोही विषयमा निर्णय लिन रास्वपाले बुधबार विहान ९ बजे बैठक राखेको थियो । तर चुनावी अभियानमा नेताहरू उपत्यका बाहिर व्यस्त भएकाले बैठक दिउँसा २ बजे सारिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार अनुशासन आयोगले बुझाएको प्रतिवेदनका आधारमा श्रेष्ठबारे निर्णय हुनेछ ।

‘पार्टीमाथि नै आक्षेप लाग्ने गरी आर्थिक अपचलनका विषय बाहिर आएको छ । अडियो प्रकरणको विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाइएको हो । प्रतिवेदनका आधारमा सांसदमाथि कारवाहीको निर्णय हुन्छ । उहाँले आरोप लगाएको जस्तै अन्य नेताहरूसमेत संलग्न रहेछन् भने त्यसबारेपनि छानविन हुन्छ’, उनले भने ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । यदि यसकै आधारमा आफूमाथि कारवाही भए कोर टिमका सदस्यहरूको नाम सार्वजनिक गरिदिने उनले धम्की दिएका छन् ।

सुशासनको मूल एजेण्डा बोकेर राजनीतिमा होमिएका रवि आफ्नै नेता तथा सांसदहरूको व्यवहारकार कारण अप्ठ्यारोमा परेका छन् । चुनावको मुखैमा अडियो सार्वजनिक भएपछि उनका विपक्षीहरूले यसैलाई मुद्दा बनाएकाले आर्थिक अपचलनमा मुछिएकाहरूमाथि कारवाही गर्नै पर्ने दबाबमा रवि छन् ।