NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

महासंघका अध्यक्ष ढकालले सार्वजनिक गरे आफ्ना पाँच प्राथमिकता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकालमा पाँच काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासङ्घका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले गाँउबाट आएको सानो व्यवसायी पनि महासंघको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयम् भएको बताए । उनले भने, ‘महासङ्घमा साना व्यवसायीहरुको प्रतिनिधित्व हुँदैन कि भन्ने साथीहरुलाई चिन्ता छ । म आफैँ पनि सानो व्यवसाय गरेर महासङ्घको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ । मैले पाँच बुँदे प्रतिबद्धता पनि घोषणा गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।’

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका पाँच प्रतिबद्धतामा आफ्नो साथ रहेको बताए । महासङ्घमा दुई कार्यकाल सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए । निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका थिए ।