NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपेन्द्रलाई सहज छैन संसद प्रवेश गर्ने दोस्रो प्रयास

काठमाडौं । कुनै बेला आफूलाई मधेसको मसिहा दाबी गरेका उपेन्द्र यादव मंसिर ४ मा भएको उपनिर्वाचनमा नव गठित दल रास्वपाका अध्यक्ष डा. सीके राउतसँग १८ हजार ६३ को फराकिलो मतान्तरले पराजित भए ।

राउत ३५ हजार ४२ मतसहित सानदार विजयी हुँदा यादवले जम्मा १६ हजार ९७९ मत पाए । तर पराजित भएको तीन महिना पनि नपुग्दै उनै यादव १० वैशाखमा हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार बनेका छन् । तर संसद प्रवेश गर्ने उनको दोस्रो प्रयास पनि त्यति सजिलो छैन ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवलाई एमाले र रास्वपाका उम्मेदवारले चुनौती दिएका छन् । उनकाविरूद्ध विपक्षी एमालेले पूर्वमन्त्रीसमेत रहेका नेता पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाले प्रहरीका पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । मंसिरको निर्वाचनमा खरेल काठमाडौं–१ बाट पराजित भएका थिए ।

त्यसबाहेक यादवलाई सत्ता गठबन्धन दल जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले उम्मेदवारी दिएका छन् । गएको निर्वाचनमा गठबन्धनबाट जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग उनी ३५४ को झिनो मतान्तरले पराजित भएका थिए । उपनिर्वाचनमा माओवादीले यादवलाई समर्थन गर्ने निर्णय गरेपछि कुशवाह जपा प्रवेश गरेका हुन् । यसैगरी सत्ता घटक दल नागरिक उन्मुक्ति पार्टीले डा. कमरुल्लाह अन्सारीलाई उम्मेदवार बनाएको छ ।

रास्वपा, जपा र नाउपासमेत सत्ता समर्थक दल भएपनि उनीहरूले छुट्टै उम्मेदवारी दिएकाले यादवलाई चुनौती थपिएको छ । सत्ता गठबन्धन विभाजित भएको फाइदा उठाउने दाउमा विपक्षी एमाले रहेको छ । सत्ता गठबन्धनसँग सहकार्य नगरी चुनावमा होमिएको रास्वपाले खरेललाई भावी गृहमन्त्रीको रूपमा प्रस्तुत गरेको छ ।

यीबाहेक अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अत्याधिक मत ल्याएकाले यादव संसद प्रवेश गर्ने दोस्रो बाटो पनि त्यति सहज देखिँदैन । गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका छन् । जनमत पार्टीले २ हजार ७२५ मत पाएको छ । योपटक बारा–२ बाट स्वतन्त्र १५ जनासहित जनाले उम्मेदवारी दिएका छन् । यादवलाई कांग्रेस, माओवादी, जसपा र नेकपा एस, लोसपाले समर्थन गरेका छन् ।

मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ जसपाले १३ हजार २४२ पाएको छ । कांग्रेसको ११ हजार १७९, एमालेको ९ हजार १९३, जपाको ८ हजार ८४६, लोसपाको ४ हजार २३५, नाउपाको ३ हजार ७९४, माओवादीको ३ हजार २६५ र नेकपा एसको १ हजार ४५५ मत रहेको छ । अघिल्लो मतपरिणाम हेर्दा यादव समर्थित गठबन्धन दलको जम्मा मत ३३ हजार ३७६ मत रहेको छ । यो मत स्वतन्त्र तीन उम्मेदवारले पाएको जम्मा मतभन्दा ४ हजार ३७६ मत बढी हो ।

यहाँ रास्वपाको खासै प्रभाव देखिँदैन । यद्यपि सभापति रवि लामिछाने उपनिर्वाचनमा आफूले जित्ने दावी गरेका छन् । केही दिनअघि खरेलको पक्षमा चुनावी अभियान चलाउन दलबलसहित बारा पुगेका उनले खरेलले जित्ने दाबी गरेका हुन् ।

त्यति सहज छैन यादवलाई चुनाव जित्न

२०५९ सालमा तत्कालीन माओवादी परित्याग गरी मधेशी जनअधिकार फोरम गठन गरे । फरमको अध्यक्षसमेत रहेका उनी लामो समय मधेश केन्द्रित राजनीतिमा सक्रिय रहे । २०६३ को मधेश विद्रोहपछि उनी राष्ट्रिय राजनीतिमा स्थापित भए । त्यतिबेला वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय राजनीतिमा हावी हुँदा मधेशको क्षत्रीय राजनीतिमा यादव हावी थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा फोरमलाई ५४ सिट जिताउन उनी सफल भए । त्यसयता निरन्तर शक्ति र सत्तामा रहेका यादव मधेको मुद्दामा उदासीन रहेको आरोप उनीमाथि लागेको छ । गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयरमा आफ्नो छोरा पराजित भएपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देउवा नेतृत्वको गठबन्धन त्यागेका थिए ।

मधेशको केही जिल्लामा एमालेसँग गठबन्धन गरी निर्वाचनमा होमिएका उनी आफै पराजित भए । एमाले–माओवादीसहितको सत्ता समीकरण बदलिएपछि उनी पुनः पुरानै गठबन्धनमा फर्किए । आफ्ना विश्वासिला सांसद रामसहायलाई उपराष्ट्रपति बनाएका उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा प्रवेश गर्न आतुर छन् । जनताले पराजित गरेको तीन महिना नपुग्दै फेरी संसद छिर्ने प्रयास गर्नु राजनीतिक अपराध र जनमतको अपमान भएको जपाका अध्यक्ष राउतको टिप्पणी गरेका छन् । तर उनी आफैले पराजित उम्मेदवारलाई दोहोर्याएर उम्मेदवार बनाएकाले राउतको भनाइमा कुनै तुक नभएको जसपाका नेताहरूको जिकिर छ । योपटक गठबन्धन दलहरू नै विभाजित भएकाले त्यसको सोझो फाइदा आफूले लिने रणनीति एमालेले बनाएको छ ।

२०६४, २०७०, २०७४ को निर्वाचन जितेका उनी उप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री भए । अघिल्लो निर्वाचनमा अस्तित्वमा नरहेको रास्वपाले योपटक गठबन्धनको कति मत विभाजित गर्छ भन्नेमा सबैको चासो रहेको छ । गठबन्धनको भोट रास्वपा, जपा र नाउपाको उम्मेदवारबीच ट्रान्सफर भएमा एमाले वा स्वतन्त्र उम्मेदवारले त्यसको फाइदा लिन सक्ने डर यादवलाई रहेको छ ।

गठबन्धनकै उम्मेदवार गलपाँसो बन्ने देखिएपछि यादव अहिले निर्वाचन क्षेत्रमा विशेष अभियानमा छन् । यद्यपि यादव समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा त्यहाँको एकमुष्ट भोट आफूलाई आउने विश्वास उनले लिएका छन् । गठबन्धनले पएको जम्मा भोटमा मात्र आम मतदाताले विश्वास गर्ने नभएकाले यादवलाई जसपाको मतलाई कायमै राखि गठबन्धनको मत तान्न निकै चुनौती देखिन्छ ।