NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

७० करोड घुस काण्ड : कर्मचारीविरूद्ध मुद्दा, गोकुललाई उन्मुक्ति

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एमाले नेता गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् ।

आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त घटनामा संलग्न सुरक्षण मुद्रण विभागका कार्यकारी अध्यक्ष विकल पौडेलसहित नौ कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा बास्कोटा भने छुटेका हुन् ।

तीन वर्षअघि उनै बास्कोटाले आफू सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रूपैयाँ घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्र र कार्यकारी निर्देशक पौडेलबीच खुला प्रतिस्पर्धा थियो । तर मन्त्रीले धोका दिएको भन्दै उनै मिश्रले बास्कोटाको अडियो सार्वजनिक गरिदिएका थिए ।

अडियो प्रकरण पनि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले अन्य कर्मचारीविरूद्ध मुद्दा पर्दा उन्मुक्ति पाएको आयोगको आजको आरोपपत्रबाट देखिन्छ ।

सोही प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले बास्कोटा र पौडेलमाथि नै छानविन गर्न आयोगलाई सिफारिस गरेको थियो ।
यसबारेमा जिज्ञासा राख्दा अख्तियारका प्रवक्ता भोला दाहाल आज आयोगले निकालेको विज्ञप्तीवाहेक आफूलाई केही जानकारी नभएको बताए । ‘अहिले आयोगले निकालेको विज्ञप्तीमा जे छ त्यत्ति हो, मलाई थप जानकारी भएन,’ उनले भने।

सेक्युरिटी प्रिन्टिङमा दुई अर्ब बढीको भ्रष्टाचार, कार्यकारीसहित नौविरूद्ध मुद्दा