NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

अख्तियारमा निजामती कर्मचारीलाई नपठाउन सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निजामती कर्मचारीलाई पठाउन नहुने बताएकी छिन् । आज संसदमा बोल्दै उनले यस विषय उठान गरेकी हुन् ।

‘आफ्नो मेल खाने मान्छे भयो भने जोगाइदिन्छन्, आफ्नो मेल नखाने मान्छे भयो भने सक्काइदिन्छन्,’ उनले भनिन्, ‘त्यसकारण अख्तियारमा निजामती कर्मचारी पठाइनै हुँदैन । अख्तियारमा पठाउन खोजी खोजी मान्छे ल्याउनपर्छ ।’ पूर्वाग्राह नराखी देशको लागि काम गर्ने व्यक्ति उक्त संस्थामा आवश्यक भएको उनको भनाई छ ।

योसँगै राष्ट्रिय सतर्कता केन्द्रलाई बलियो बनाउने हो भने धेरैजसो मुद्दा केन्द्रले नै हेर्न सक्ने तर्क उनले गरेकी छन् । ‘यत्तिका धेरै आयोग छन् । काम सबै अख्तियारलाई दिएर आत्महत्याको माहोल सिर्जना नगरौं,’ उनले भनिन्, ‘तामेलीमा कुन मुद्दा किन राखिन्छ भन्ने कुराको पारदर्शिता चाहियो । यही समितिबाट हेर भनेर पठाइएको विषयलाई पनि तामेलिमा राखिएको छ ।’

नेपाल आयल निगमले जग्गा खरिद गर्दा दुई अर्ब ३४ करोड हिनामिना गरेको विषयमा लेखा समिति, सुशासन समिति, उपभोक्ता समितिले छानविन गर भनेको विषयलाई पनि तामेलीमा राखेकोप्रति उनले आपत्ति जनाएकी छन् ।

सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचारको परिभाषालाई पनि स्पष्ट पारिदिनुपर्ने माग राखेकी छन् । ‘क्याबिनेटले गर्ने निर्णय नीतिग हो ? यस्ता भ्रष्टाचारलाई हेर्ने अधिकार न अख्तियारको छ न सर्वोच्च अदालतको,’ उनले भनिन्, ‘यस्ता निर्णयमार्फत भ्रष्टाचार गर्ने अनि कर्मचारीहरू छाडा भए भनेर के आधारले भन्ने ?’