NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन २८ गते

ठगीका मास्टर माइण्ड दम्पती, जसले गरे ५० करोड ठगी

ठगको फन्दामा पर्दा मानिस कसरी सडकमा पुग्छन् भन्ने नमिठो उदाहरण बनेका छन्, बर्दिया धधवारका ६० वर्षीय लीलाराज स्वाँर । उनले काठमाडौं– ६ बौद्ध महाँकालस्थित साढे तीन आना क्षेत्रफलमा बनेको तीनतले घर मात्रै होइन, बर्दिया धधवारमा रहेको पुख्र्यौली सम्पत्तिसमेत गुमाएका छन् ।

नातिनी सिमरन स्वाँरलाई बुहारी बनाउने प्रलोभनपछि लीलाराजकी श्रीमती राधा बाँकेको नेपालगन्ज उपमहानगर– १२ की ४५ वर्षीया माधुरी शाहसँग नजिकिइन् । माधुरी चाबहिलमा बुटिक चलाउँथिन् । राधालाई आमा भन्दै खुट्टैमा ढोग्थिन् । वेलाबखत राधालाई ‘गिफ्ट’ पनि दिन्थिन् । प्रलोभनमा परेकी राधाले माधुरीलाई बौद्ध महाँकालस्थित आफू बस्दै आएको घर सहकारीमा राखेर ऋण मात्रै झिकिदिइनन्, बिक्री गरिदिन भन्दै बर्दियाको धधवारस्थित दुई बिघा जमिन पनि पास गरिदिइन् । अन्ततः सोही गल्तीका कारण राधाले ज्यान गुमाउनुपर्‍यो, लीलाराज सडकमा आउनुपर्‍यो ।

लीलाराजका सम्धी शम्भुप्रताप खड्काले माधुरी र उनको श्रीमान् विवेकविक्रम शाहका कारण लीलाराजले दुई करोड ३१ लाख रुपैयाँ गुमाउनुपरेको बताए । ‘माधुरी र उनका श्रीमान् विवेकविक्रमको गुलियो गफमा परेर सम्धिनीले आफू बस्ने घर सहकारीमा राखेर ऋण झिकिदिइन् । बर्दियाको जग्गा पनि पास गरिदिइन् । सुनका गहना पनि उनैलाई दिइन् । तर, माधुरीले न सहकारीको ऋण तिरिनन् । न जग्गा नै फिर्ता गरिन् । सुनका गहना पनि सबै लिइन् । पिरले सम्धिनीलाई ‘हर्ट एक्ट्याक’ आयो । उनको निधन भयो । सम्धी अहिले घर न घाटको भएका छन्,’ उनले भने ।

विश्वासमा परी सर्वस्व गुमाएका लीलाराज अहिले ‘डिप्रेसन’मा छन् । गोजीमा औषधि सेवन गर्ने रकम छैन । न बस्ने वासकै टुंगो छ । सबै गरी लीलाराजले दुई करोड ३१ लाख रुपैयाँ गुमाएको उनका सम्धी खड्काले बताए ।

माधुरी र उनका श्रीमान् विवेकविक्रमको फन्दामा परी रकम गुमाउने लीलाराज एक्ला होइनन्, चाबहिलकी रक्षा सिंहले ८२ लाख रुपैयाँ गुमाइन् । साइनोले माइजू पर्ने माधुरीले रक्षालाई मित्रपार्कस्थित अपार्टमेन्ट सस्तो मूल्यमा पास गरिदिने प्रलोभन दिइन् । यसबापत उनले रक्षाबाट ८२ लाख रुपैयाँ फुत्काइन् । तर, उनले न अपार्टमेन्ट पास गरिदिइन्, न रकम नै फिर्ता गरिन् ।

रनाहामा परेकी रक्षाले अदालतमा मुद्दा हालिन् । अदालतबाट मुद्दा पनि जितिन् । तर, उनको रकम अझै फिर्ता हुन सकेको छैन । उनले भनिन्, ‘मित्रपार्कमा रहेको एक करोड रुपैयाँको अपार्टमेन्ट ८२ लाख रुपैयाँमै दिन्छु भनिन् । माइजूले त्यसो भनेपछि हामी विश्वासमा पर्‍यौँ । रकम निकालेर हामीले दियौँ । पछि बुझ्दा ‘अपार्टमेन्ट’ त अरूले नै रोक्का गरेर राखेको रहेछ । हामीले रकम फिर्ता माग्यौँ । तर, उहाँले फिर्ता दिनुभएन । अदालतमा मुद्दा हाल्यौँ । मुद्दा जित्यौँ पनि । तर, उहाँले अझै रकम दिनुभएको छैन ।’

चाबहिल भत्केको पुल बस्ने साधना पराजुली पनि माधुरीका कारण ४४ लाख गुमाउन पुगिन् । अनेक साइनो लगाउँदै माधुरी साधनासँग नजिकिइन् । प्रभावित पार्न कहिले ‘गिफ्ट’ दिइन् त, कहिले गुलियो गफ । भव्य व्यापार देखाउन चाबहिलस्थित बुटिक लगिन् । जब साधना प्रभावित भएको भेउ पाइन् । एकएक गर्दै उनका सुनको गहना र रकम फुत्काउन थालिन् । गहना र रकम रित्तियो, त्यसपछि उनी सम्पर्कविहीन भइन् ।

साधनाले १७ तोला सुनका गहना र नगदसहित ४४ लाख रुपैयाँ ठगीमा परेको बताइन् । ‘मलाई अनेक प्रलोभन देखाइन् । उनी घरमै आउँथिन् । मिठो गफ गर्थिन् । व्यापार गर्न भन्दै मसँग पैसा मागिन् । पछि सुनका गहना पनि लिइन् । म विश्वासमा परेँ । तर, उनले विश्वासघात गरिन् । सबै गरी मेरो ४४ लाख रुपैयाँ उनले लिएकी छिन्,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।