NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फोहर व्यवस्थापनमा निरिह बालेन : सिसिटिभी फुटेज हेर्छन्, सरोकारवालालाई पन्छाउछन्

धुनिवेशीका मेयरको आरोप– राणा भन्दा पनि चर्को, भेट पाउनै मुश्किल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले विगतमा भएको सम्झौता बमोजिम फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै प्रभावित क्षेत्र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आक्रोस पोखेका छन् ।

१५ दिनभित्र आफ्ना माग सम्बोधन नभए फोहर फाल्न नदिने उनले चेतावनी दिए । गत वर्ष शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपलिकाबीच वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहरमैला व्यवस्थापन गर्ने सम्झौता भएको थियो ।

तर वञ्चरेडाँडाबाट निस्किएको फोहरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण हुँदा दुर्गन्धित भएको मेयर आचार्यले जानकारी दिए । समस्या समाधानका लागि कुरा गर्न खोज्दा काठमाडौंका मेयर शाहले भेट्न नदिएको उनले गुनासो पोखे ।

‘वञ्चरेडाँडाको ड्याममा जम्मा भएको लिच्चड खोलिएपछि कोल्पुखोलामा मिसिएर दुर्गन्धित भएको छ । त्यसको असर बेलकोटगढीमासमेत परेको गुनासो आएका छन् । समस्या राख्न खोज्दा मेयरले भेट्नसमेत दिएनन् । सम्झौता अनुसार काम केही भएको छैन’, आचार्यले भने ।

उनले प्रभावित क्षेत्रका नागरिक समस्यमा पिल्सिदासमेत काठमाडौंका मेयर सिसीटिभी हेरेर बसेको आरोप लगाए ।

‘साथीहरूलाई अझै वारेन्ट जारी छ । दुर्गन्धित फोहोरले स्थानीय आतंकित छन् । स्थानीय बस्तीमा हैजा फैलिने डर छ’, उनले भने, ‘तर काठमाडौंका मेयर काठमाडौंबाटै सिसीटिभि हेरेर बसेका छौं, सबै ठीक छ भन्छन्, फिल्टमा आउँदैनन् । हामीसँग कुनै समन्वय नै गरेका छैनन् ।’

काठमाडौंको मेयर शाहमा राणाहरूको लेगेसी अझै बाँकी रहेको भन्दै हाम्रो मागको सुनुवाइ नभए स्थानीयसँग समन्वय गरेर थप आन्दोलन गर्ने मेयर आचार्यले चेतावनी दिए ।

‘प्रभावित क्षेत्रमा समस्या देखिँदासमेत मेयरसँग भेट्न, कुरा राख्न, सोध्न पाइदैन । त्यस्तो बाक्लो घेराभित्र रहेकासँग के कुरा गर्न सकिन्छ र ? उहाँमा राणाको लिगेसी अझै बाँकी रहेछ’, बालेनप्रति आक्रोस पोख्दै आचार्यले भने ।

फोहर व्यवस्थापनका लागि धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले ७ बुँदे ध्यानाकर्षणसहित फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई १५ दिने अल्टिमेटम दिएको छ ।

माग सम्बोधन नभए काठमाडौंको फोहर फाल्न नदिने दुई पालिकाको चेतावनी