NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको बताएका छन्। उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताए ।

प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे । ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गरे । उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गरे। नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उनको भनाइ थियो ।