NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

‘सिंहदरबार केन्द्रित मानसिकतामा परिवर्तन भएन’ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमजनतालाई आर्थिक विकास र सामाजिक मूल्य र मान्यतामा स्थापित गर्ने सोचका साथ तीन तहको सरकार स्थापना गरिएको भए पनि अझै पनि सिंहदरबार केन्द्रित सरकारको मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् । देश सङ्घीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको उनले उल्लेख गरे।

‘आमजनतालाई आर्थिक र राजनीतिक क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ’, प्रधानमन्त्री दाहालले भने ।

नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा समावेश गरेर नेपालको संविधान निर्माण भएको उनले स्पष्ट पारे । नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा अझै स्पष्टताको अभाव रहेको उनले बताए । नेपालको आर्थिक, सामाजिक, दार्शनिक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै प्रधानमन्त्री दाहालले यस्तो सोच उचित नहुने बताए।

अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि नेपालकै नीति र सोचलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रलाई सम्मान गरेर अगाडि जान सरकार तयार रहेको भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताए । आफूले गरेको निरन्तर प्रयासका बाबजुद राजस्व संकलनमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चितीमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओरालो लाग्दै गएको तथ्य उनले पेस गरे ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाए । उनले निजी क्षेत्रको हित र चासोविपरीत गएर कुनै पनि ऐन तथा कानुन नबनाउने विश्वास दिलाए। त्यसअघि प्रधानमन्त्री दाहालले गल्फ प्रतियोगिताको उद्घाटन गरेका थिए ।