उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल
दमौली । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा सहभागी भई मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गरेका छन्् । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको जानकारी दिए । निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द हुने भएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ ।
उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।
तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया