NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रविविरूद्ध अख्तियारमा अर्को उजुरी, छानविनका लागि कागजात माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उनी उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिनेबारे गरिएको निर्णयविरूद्ध उजुरी परेको हो । उक्त उजुरीमा सरकार आफैंले पहल गरिसकेको कामका लागि निजीलाई ठेक्का दिनेगरी कार्यविधि स्वीकृत गर्नुमा शंका गरिएको छ ।

कान्तिपुर दैनिकमा यसबारे प्रकाशित भएको समाचारलाई आधार प्रमाणको रूपमा पेश गर्दै उनले बदनियतपूर्ण निर्णय गरेको उक्त उजुरीमा उल्लेख छ ।

आयोगले यसबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेको छ । मन्त्रालयलाई पत्र लेख्दै आयोगले यसबारेमा राय प्रतिक्रियासहित कागजात उपलब्ध गराउन गृहलाई ताकेता गरेकाे हाे ।

अनुसन्धान अघि बढाउनका लागि मन्त्रालयसँग नागरिकको विवरण प्रमाणीकरण एवं अन्त्र प्रणाली आवद्धतासम्बन्धी कार्यविधि, २०७९, कार्यविधि स्वीकृत गर्दाका निर्णय, अवेदन पेश गर्ने सूचना र सोसँग सम्बन्धित कागजातहरू, सूचनाबमोजिम दर्ता भएका आवेदनहरू, मूल्यांकन समितिको प्रतिवेदन, सेवा प्रदायक छनौटको निणय, सेवा प्रदायकसँगको सम्झौता र अन्य सम्बद्ध कागजातहरू माग गरेको छ ।

व्यक्तिको संवेदनशील विवरण रुजु गर्ने जिम्मा निजी कम्पनीले पाउने भनेपछि चौतर्फी विरोधसँगै हाल सरकारले उक्त कार्यविधि नै खारेज गरिदिएको छ ।

लामिछाने ३२ दिन गृह मन्त्रालयको नेतृत्वमा रहँदा उक्त कार्यविधि पास भएको थियो । उनी बहिर्गमन हुनु अघिल्लो दिन उक्त ठेक्का एडभान्टेज इन्टरनेसनल प्रा.लिले पाएको थियो ।

मन्त्रिपरिषद्ले उक्त कार्यविधि खारेजी गरेसँगै अब राष्ट्रिय परिचयपत्र रूजुको काम सरकार आफैंले गर्ने भएको छ ।