NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

इच्छाकामना मन्दिर पुनः निर्माणकाे अन्तिम चरणमा

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-५ मा रहेको इच्छाकामना मन्दिर पुन:निमार्ण अन्तिम चरणमा पुगेको छ । ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुन निर्माण गरिएको हो ।

विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरू भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती जडान, ढु्ंगा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए ।

‘गाउँपालिका र प्रदेश सरकारको झन्डै दुई करोडको लागतमा मन्दिर निमार्णमा खर्च भइसकेको छ’ उनले भने,‘ चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ’ । मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको १० लाख र गाउँपालिकाले विनियोजन गरेको आठ लाखको काम भइरहेको बोहोराले बताए ।

पृथ्वी रानमार्गाअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र ६ सय मिटर हिडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताए । उनले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बता्उ । कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताए । उहाँले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जनाउँदै मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको बताए । ‘जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ’, उनले भने ।

इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई बढाइने बताए । उनले मन्दिरको सरसफाइका लागि पनि कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए । शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष