NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
सन्दर्भ : उपनिर्वाचन– २०८०

यी हुन् आम निर्वाचन २०७९ मा सर्वाधिक मत पाउने ११ नेता

काठमाडौं । आइतबार सकिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले सर्वाधिक ५४ हजार १७६ मतसहित दोस्रोपटक निर्वाचित भए ।

यसअघि मंसिरमा भएको आम निर्वाचनमा उनले सोही क्षेत्रबाट ४९ हजार ३० मत ल्याइ विजयी भएका थिए । तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी प्रमाणित भएपछि दुई महिना नपुग्दै उनी पदमुक्त भए ।

नैतिक, कानुनी र संवैधानिक प्रश्नैप्रश्नको घेराबीच रवि अघिल्लो पटक प्राप्त गरेको भन्दा थप ४ हजार ८७६ मतान्तरले विजयी भएपछि यतिबेला सबै आश्चर्यचकित भएका छन् । उपनिर्वाचनमा उनले प्रतिस्पर्धीसँग मत मात्र बढाएका छैनन् मतान्तरमासमेत यसअघि आफ्नैले राखेको र्कीतिमानी भंग गरेका छन् ।

सञ्चारकर्म छाडेर गएको असार ७ राजनीतिमा हामफालेका उनले आफूसहित प्रतिनिधिसभामा २१ सिट थप्न सफल भए । निकै छोटो समयमा परम्परागत राजनीति दल कांग्रेस, एमाले र माओवादी जस्ता बलिया प्रतिस्पर्धीलाई पछि पार्दै झण्डै साढे एघार लाख लोकप्रिय मत ल्याउन चानचुने विषय होइन ।

रविमाथि प्रशस्त प्रश्न उठ्दा उठ्दै पनि कसरी यति धेरै मत आयो भन्नेमा पछि समीक्षाको विषय बन्ला तर यहाँ गएको निर्वाचनमा सर्वाधिक लोकप्रिय मत ल्याइ विजयी भएका उम्मेदवारबारे चर्चा गर्न गइरहेका छौं । गएको निर्वाचनमा सर्वाधिक मत ल्याउने ११ जनामध्ये कांग्रेसका तीन, एमालेका ५, माओवादी केन्द्र १, रास्वपा १ र राप्रपाका एक जना रहेका छन् ।

केपी ओली– एमाले

आम निर्वाचन २०७९ मा सर्वाधिक मत ल्याउनेमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । झपा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ओली ५२ हजार ३१९ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । आफ्ना प्रतिस्पर्धीको तुलनामा २८ हजार ५७६ मत बढी प्राप्त गरेका छन् ।

एकातिर कांग्रेस, माओवादीसहित पाँचदलीय गठबन्धन र अर्कोतिर पार्टी विभाजनबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका ओलीले पाएको मत लोभलाग्दा छ । उनी २०६४ को संविधानसभा निर्वाचनबाहेक २०४८ देखि सोही क्षेत्रबाट निरन्तर निर्वाचित सदस्य हुन् ।

रवि लामिछाने–रास्वपा

छोटो समयमा राजनीतिमा निकै लोकप्रियता कमाएका लामिछाने आमनिर्वाचनमा सर्वाधिक दोस्रो मत ल्याउने नेतामा पर्छन् । चितवन–२ मा बहालवाला मन्त्रीसमेत रहेका कांग्रेसका बलिया प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार ३१२ मतान्तरले पराजित गर्न उनी सफल भए ।

४९ हजार ३०० मतसहित रवि विजयी हुँदा उनका प्रतिस्पर्धी श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । उनले मतान्तर १६५ जना सांसदमध्ये सर्वाधिक धेरै मत हो ।

दोस्रोपटक उपनिर्वाचनमा ४२ हजार ९६२ मतान्तरसहित कांग्रेसका उम्मेदवार जीननारायण श्रेष्ठलाई रविले पराजित गरे । रविले पाएको मत र मतान्तर सादय संसदीय इतिहासमै पहिलो हुन सक्छ ।

सुनिलकुमार शर्मा– कांग्रेस

लोकप्रिय मत पाउनेमा तेस्रो स्थानमा कांग्रेसका सांसद सुनिलकुमार शर्मा रहेका छन् । मोरङ–३ बाट शर्मा ४८ हजार ६१३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रभावशाली उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९७ मत पाए ।

पूर्णबहादुर तामाङ– कांग्रेस

रामेछाप–१ का कांग्रेसका उम्मेदवार पूर्णमान तामाङ धेरै मत ल्याउनेमा चौंथो स्थानमा रहेका छन् । उनी ४७ हजार ९९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले ३० हजार ७३० मत पाएका छन् ।

गोकुल बास्कोटा– एमाले

एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मत ल्याउनेमा पाचौं नम्बरमा पर्छन् । काभ्रे–२ बाट उनी ४५ हजार ३४५ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत पाए । ओली सरकारको पालामा प्रिन्टिङ प्रेस खरिद प्रकरणसम्बन्धी ७० करोड काण्डमा मुछिएका बास्कोटाले गठबन्धनलाई परास्त गरै धेरै मत ल्याउन सफल भए ।

टोपबहादुर रायमाझी– एमाले

आम निर्वाचनमा सर्वाधिक मत ल्याउनेमा एमालेका सचिव टोपबहादुर रायमाझी छैटौं नम्बरमा रहेका छन् । नेकपा विघटनपछि एमालेमै बसेका उनी माओवादीको कारवाहीमा परेपछि ४० महिनामै सांसद पद गुमाएका थिए । उनीसहित पूर्वमाओवादीबाट चार जना प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका थिए । तर रायमाझीले मात्र जित्न सफल भए ।

अर्घाखाँची–१ बाट निर्वाचित भएका उनी २०६४, २०७० र २०७४ मा सोही क्षेत्रबाट विजयी भएका थिए । रोचक कुरा रायमाझी ४२ हजार ६७५ मतसहित विजयी हुँदा उनका निकट प्रतिस्पर्धी कांग्रेसकी नेतृ पुष्पा भुसाल गौतमलेसमेत ४० हजार मत कटाउन सफल भएकी छिन् । ताकी ४० हजार मत कटाउने विजेता प्रतिनिधिसभा सदस्य जम्मा ११ जना रहेका छन् । उपविजेता भुसालले सर्वाधिक ४० हजार ९४५ मत पाएका छन् ।

पूर्णबहादुर खड्का– कांग्रेस

नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका कांग्रेसका सांसद पूर्णबहादुर खड्ना सर्वाधिक मत पाउनेमा सातौं स्थानमा रहेका छन् । खड्का ४२ हजार ६०७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार धु्रवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् । उनी सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

वर्षमान पुन– माओवादी केन्द्र

४१ हजार ७१४ मतसहित विजयी भएका माओवादी केन्द्रका सांसद वर्षमान पुन प्रतिनिधिसभा सदस्यमा धेरै मत पाउनेमा आठौं स्थानमा रहेका छन् । माओवादी केन्द्रमा सर्वाधिक मत पाउनेमा उनी एक मात्र सांसद हुन् । रोल्पा–१ बाट विजयी भएका उनले एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई पराजित गरेका थिए । पूर्वमाओवादीका कमाण्डर रहेका बुढाले १६ हजार ४८५ मत पाए । नेकपा विघटनपछि बुढामगर एमालेमै बसेका थिए ।

सूर्यबहादुर थापा क्षेत्री– एमाले

प्युठान–१ बाट एमालेका निर्वाचित सांसद सूर्यबहादुर थापा क्षेत्री सर्वाधिक मत ल्याउनेमा नवौं स्थानमा रहेका छन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी ४१ हजार ११८ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार ८१४ मत पाइन् । अघिल्लो निर्वाचनमा पौडेल सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

भगवती चौधरी– एमाले

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार श्रेष्ठलाई पराजित गरेकी एमालेकी चर्चित नेतृ भगवत चौधरी सर्वाधिक पत पाउनेमा दशौं स्थानमा रहेकी छिन् । चौधरी ४० हजार ७८८ मतसहित सुनसरी–३ बाट विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी गच्छदारले ३५ हजार ६०० मत पाए । २०४८ देखि अपराजित गच्छदारको संसदीय यात्रा योपटक चौधरीले तोडेकी थिइन् । अघिल्लो दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएकी उनले गच्छदारसँग योपटक मिठो बदला लिएकी छिन् ।

राजेन्द्र लिङ्देन– राप्रपा

राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मत पाउनेमा एघारौं स्थानमा रहेका छन् । झापा–३ बाट एमालेसँगको तालमेलमा निर्वाचित भएका लिङ्दनेले योपटक पनि एमालेसँग नै चुनावी तालमेल गरेका थिए । उनी ४० हजार ६६२ मतसहित विजयी हुँदा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत पाए । प्रचण्ड नेतृत्वको सकारमा ४२ दिन उपप्रधानमन्त्री एवं उर्जामन्त्री भएका उनी गत वर्ष सम्पन्न भएको महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई पराजित गर्न सफल भएका थिए ।