NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कसको गल्तीले हरायो लोक सेवालगायतको डाटा ?

काठमाडौं । आयोगसहित करिब ६० वटा सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ । यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो । तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले लोक सेवालगायतका निकायहरूको डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताए । उनले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप गर्ने गरेको तर आयोगले डाटा संवेदनशीलताको विषय आफूहरूलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उल्लेख गरे ।

“हामी होस्टिङ प्रदायक संस्था मात्र हौँ । आयोगबाट यसअघि डाटा ब्याकअपका लागि माग भएन । अर्को कुरा हामीसँग ब्याकअप गर्न पूर्वाधार नै भएन । यसमा हाम्रो पनि कमजोरी भएको छ,” उनले भने । उनले थपे, “सधैँ हामीलाई हेटौँडामा मिरर सर्भर छ, त्यहाँ किन ब्याकअप भएन ? भनेर प्रश्न गरिन्छ । तर त्यहाँ कोरियाली सरकारले भवन मात्र बनाइदिएको हो । उपकरण दिएको होइन । हामीले प्रत्येक वर्ष अलिअलि गरेर उपकरण थप्दैै साना सर्भर र वेबसाइटको ब्याकअप गर्न थालेका छौँ ।”

उपनिर्देशक श्रेष्ठले ओराकलको लक भएको सर्भरको हार्डडिस्कमा लोकसेवा आयोग, गोरखापत्र संस्थान, कृषि तथा वन विश्वविद्यालय, देशभरका विभिन्न पालिकाका वेबसाइट होस्टिङ रहेको जानकारी दिए । उनले लोकसेवालगायतका सरकारी वेबसाइट होस्टिङ भएको सर्भरमा रहेको भर्चुअल मेसिन फेला नपरेको र ओराकल कम्पनीले राखेको हार्डडिक्समा रहने रिडरमा लक अर्थात् क्र्यास भएकाले यस्तो अवस्था आएको बताए ।

उनले भने, “डाटा रिकभरी एकछिनमा हुने कुरा होइन । यो हार्डडिक्स एक सय टेरावाइट क्षमता भएकाले स्क्यान गर्न समय लाग्छ । डाटा रिकभरीका लागि ओराकलको टिम लागिरहेको भन्ने हामीलाई जानकारी आएको छ ।”

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले चाहिँ मन्त्रीपरिषद्को निर्णयअनुसार सबै सरकारी निकायले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा राखेको बताए । “हामीले पनि सरकारको नीति नियमअनुसार त्यहाँ सबै डाटा राखेका हौँ । सेवाग्राहीका डाटा सुक्षित गर्ने जिम्मेवारी केन्द्रको हो । हामीले ओराकललाई चिन्दैनौँ,” उनले भने, “त्यहाँ हाम्रो डाटाको सुरक्षा भएन । यस घटनापछि आयोगले आफैँ कसरी डाटा सुरक्षित राख्ने भन्नेतर्फ आफ्नै प्रणाली डेभलप गरेर लागेको छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष