गण्डकीमा मुख्यमन्त्री पाण्डे र दुई बिनाविभागीय मन्त्रीले लिए शपथ
गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका हुन् । सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया