हाजिर भएको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् । मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएकोमा आइतबार बिहान ११ बजे पदभार ग्रहण र हाजिर गरेका थिए । तर, एक घन्टामै दिउँसो १२ बजे सामान्य प्रशासन मन्त्रालयले यादवलाई मुख्यमन्त्री कार्यालयमै यथावत् राख्न पत्र पठाएपछि उनी फर्किएका हुन् ।
मेयर विनोदकुमार साहले प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्न नपाउँदै सरुवा भएपछि अचम्ममा परेको बताए । ‘नगरपालिकामा एक महिनादेखि प्रशासकीय छैनन्, बल्ल पठाएको थियो, तर फेरि सरुवा गरिदियो,’ उनले भने । हरिपुर्वामा यसअघि पनि प्रशासकीय अधिकृतको एक सातामै सरुवा भएको थियो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेको गत १५ चैतमा सरुवा भएपछि २२ चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव धु्रवराज आचार्यलाई प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो । तर, सामान्य प्रशासन मन्त्रालयले एक साता पनि नबित्दै २९ चैतमै पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै फिर्ता गरेको थियो । त्यसको १५ दिनपछि यादवलाई पठाइए पनि उनलाई फेरि फर्काइएको छ ।
आचार्यभन्दा अघिका प्रशासकीय अधिकृत न्यौपाने ९ भदौमा आएका थिए । १२ माघमा वडाध्यक्षहरूले विभिन्न विवाद निकालेर दुव्र्यवहारसमेत गरेका थिए । जनता समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष रामस्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको विषय लिएर प्रशासकीय प्रमुखमाथि दुव्र्यवहार गरेपछि उनी सरुवा मागेर हिँडेका थिए । १५ चैतमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सरुवा लिएर धनुषाको मिथिला नगरपालिका गएका हुन् । न्यौपानेभन्दा पहिलाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल पनि ६ महिनामै सरुवा भएर धनुषाको जलेश्वर गएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया