NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २७ गते

रास्वपा केन्द्रीय समिति र संसदीय दल बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ ।

प्रचण्ड नेतृत्वको सरकारलाई सुरुमै समर्थन गरेको रास्वपा पूर्ववाचा पूरा नगरेपछि सरकारबाट बाहिरिएको थियो । तथापि, उसले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म यथावत् राखेको छ ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट चौथो ठूलो दल बन्न सफल रास्वपाले पार्टी संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गरेको थियो । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डोलप्रसाद अर्याललाई उक्त जिम्मेवारी दिइएकोमा उपनिर्वाचनको परिणामपछि उनले राजीनामा दिएका छन् । रवि लामिछानेलाई उक्त जिम्मेवारी दिन उनले सो पदबाट शनिबार राजीनामा दिएका हुन् ।