NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकार ५ वर्ष चल्छ, रास्वपालाई अहिले नै पुराना मन्त्रालय दिने मनस्थितिमा छैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ,’ उनले भने ।

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा अडिनेमा आफूलाई विश्वास नलागेको बताए ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । ‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन,’ उनले भने ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने दाबी गरे । “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।”

फरक प्रसंगमा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघरमण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उहाँले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो, हाँसीहाँसी ।’

बस्नोस् त भन्न मिल्दैन, बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए ।

पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।