NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
राजनीति

माओवादीले एकलौटी गर्यो, गठबन्धन के हुन्छ भन्न सकिन्नँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले एकलौटी गरेको आरोप लगाएका छन् । यस्तै अवस्था रहे गठबन्धनको भविष्य अन्योलपूर्ण हुनेसमेत उनले औंल्याए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनको संस्कृतिअनुसार सबैको भावना सम्बोधन गरेर अघि बढ्नुपर्नेमा एकलौटी गरेको उनको आरोप छ । यही कारण उनले माओवादीको आलोचना मात्र नभएर निन्दा नै गर्न मन लागेको बताए ।

‘प्रचण्डजीहरूले सरकारमा एकलौटी गरेर हामीलाई बेवास्ता गर्नुभएको छ । यसबाट हामी मर्माहत छौं । माओवादीको यो शैली हामीलाई स्वीकार्य छैन,’ सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

कर्णाली प्रदेश सरकारको भागबण्डामा उनले सबैभन्दा बढी चित्त दुखाए । माओवादी नेतृत्वमा कर्णालीमा गठित सरकारमा एकीकृत समाजवादीले आफ्नो सम्मानजनक हिस्सेदारी खोजे पनि पाएको छैन ।

गठबन्धन टिकाउने हैसियत आफूहरूसँग भए पनि माओवादीको रवैयाले यसै भन्न सकिने अवस्था नरहेकोसमेत उनले बताए । ‘यस्ता प्रवृत्तिहरू हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्न सकिन्न,’ नेपालले भने ।