मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।
परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् । दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताए । उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।
एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए ।
उनले वर्षमा दुई पटक मह निकाल्छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्छन्, “मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पु–याउन सकिरहेको छैन ।”
उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन् ।
उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटबललगायतका क्षेत्रवाट व्यवसायी घरमै आएर लैजान्छन् ।”
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ ।
उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।
तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाए तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उनी माहुरीपालनतर्फ आकर्षित भएका हुन् ।
तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए ।
उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।
ताजा अपडेट
-
सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
-
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
-
बालेनले गाडीमा जान नदिएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न वसन्तपुर
-
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड
-
दीपेन्द्रका बुवा भन्छन्: छोराका कीर्तिमानले देश खुसी भएको छ
प्रतिक्रिया