उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो

काठमाडाैं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यावसायिक लागत बढी हुँदा नेपालका वस्तु तथा सेवाले त्यस्तै प्रकृतिका विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखेका हुन् ।
‘यहाँ उत्पादन लागत निकै छ । जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान थालेका छन्,’ पूर्वअध्यक्ष राणाले भनिन् ।
नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष शर्माले पनि नेपाली उत्पादन विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न नसकेका कारण यहाँका उत्पादन धराशायी हुँदै जान थालेको बताए । महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी छ ।
मुलुकको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थराजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने पूर्वअध्यक्ष राणाको भनाइ छ । ‘राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ । अर्थराजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्,’ उनले भने । त्यस्तै नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाको भनाइ छ ।
उत्पादनमूलक उद्योग र व्यापारका लागि फरकफरक ब्याजदर निर्धारण गरिनुपर्ने राणाले बताए । सम्मेलनमा परिसङ्घका पूर्वअध्यक्ष शर्माले नेपालमा सामाजिक सुरक्षाको दायित्व बढ्दै जानु चिन्ताको विषय रहेको उल्लेख गरे ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया