NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतीय नागरिकसँग नेपाली नागरिकता, त्यही प्रयोग गरेर व्यवसाय सञ्चालन र घरजग्गा खरिद

काठमाडौं । भारतको बिहार बलिया इब्राहिमपट्टी गाउँपञ्चायत भिमपुराथाना बेल्थरा रोडका स्थायी नागरिक हुन्, ५५ वर्षीय भरतप्रसाद गुप्ता ‘बल्लु’ । तर, उनले २३ चैत ०६३ मा सिराहाको मिर्चैया नगरपालिका– २ रामनगरबाट नेपाली नागरिकता लिए ।जन्मका आधारमा लिइएको सोही नागरिकता प्रयोग गरी उनले शंखमूलमा मिठाई दोकान मात्रै खोलेनन्, जग्गा खरिद गरेर शंखमूल चोकमै आलिसान बंगला बनाए ।

उनले सोही नागरिकता प्रयोग गरी श्रीमती ५० वर्षीया ज्ञानमती देवी गुप्ता तथा छोराहरू ३० वर्षीय राहुल र रोहितलाई पनि नागरिकता बनाइदिए । राहुल र रोहित दुवैसँग अहिले वंशजको नागरिकता छ । राहुलले नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिइसकेका छन् । प्रहरीका अनुसार भरतप्रसादको नाममा शंखमूलमा आलिसान बंगला मात्रै होइन, काठमाडौं सौखेल– ६ मा ६६७.६९ र १५८ वर्गमिटरका जग्गा पनि छन् । त्यस्तै, उनकी श्रीमती ज्ञानमतीको नाममा काठमाडौं– १० मा १३०.१९ वर्गमिटर क्षेत्रफलको जग्गा छ ।

भरतप्रसाद भारतीय हुन् भन्ने उनको भाइको परिचयले पनि स्पष्ट पार्छ । भरतप्रसादका भाइ मुरारी गुप्ता भारत उत्तरप्रदेशको बलियामै बस्छन् । उनको भारतीय आधारकार्ड नम्बर हो– युपी/४२/३३/०६४८४३४ । तर, भरतप्रसादकै अर्का भाइ मोहन गुप्ताका दुई छोरा रामसुन्दर र रामप्रवेशले पनि नेपाली नागरिकता लिएका छन् । ४४ वर्षीय रामसुन्दरले १२ चैत ०६३ मा पर्साको वीरगन्ज उपमहानगरपालिका– २ बाट तथा ४३ वर्षीय रामप्रवेशले २३ चैत ०६३ मा रुपन्देही फरेना–२ बाट नेपाली नागरिकता लिएका छन् । रामसुन्दरले अहिले ललितपुरको लगनखेलमा मिठाई दोकान चलाउँदै आएका छन् । रामप्रवेशले पनि गोंगबुमा मिठाई दोकान नै चलाउँदै छन् ।

भारत बलियाकै ३९ वर्षीय गोपाल गुप्ता पनि भरतप्रसादकै नातेदार हुन् । भरतप्रसादसँगै शंखमूल बस्दै आएका उनले रुपन्देही असुरयान– ३ बाट नेपाली नागरिकता लिएको भेटिएको छ । घटना अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भरतप्रसाद र उनकी श्रीमतीले सबै सम्पत्ति नक्कली नागरिकता प्रयोग गरी खरिद गरेको बताए । उनले भने, ‘यिनीहरू (भरतप्रसाद र ज्ञानमती)ले नक्कली जाली कागजात पेस गरी नक्कली नागरिकता बनाए । सोही नागरिकताबाट छोराछोरीको पनि नागरिकता बनाइदिए । त्यति मात्रै होइन, काठमाडौंमा महँगो मूल्य तिरेर जग्गा खरिद गरे । आलिसान महल बनाए ।’

बिहारको बलिया इब्राहिमपट्टी गाउँपञ्चायत भिमपुराथाना बेल्थरा रोडकै हुन्, ४६ वर्षीय भरत गुप्ता । उनले पनि ७ फागुन ०६३ मै जाली कागजात पेस गरी बारा पिपरा– ६ बाट नेपाली नागरिकता लिए । श्रीमती स्नेहलतालाई पनि उनले बारा निजगढ– ८ बाट ९ फागुन ०६९ मा वंशजको नेपाली नागरिकता दिलाए । कलंकीमा भव्य मिठाई दोकान चलाउँदै आएका उनीहरूका छोरा आदित्य र छोरी आँचलले भने नेपाली नागरिकता लिएनन् । उनीहरूले बिहार बलियाबाटै भारतीय आधारकार्ड लिएका छन् ।