NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा

काठमाडौं । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, ‘अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।’

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए ।

सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताए । ‘कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ’, उनले भने ।

सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उहाँले आगामी वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिए ।‘सरकारले सुशासन ल्याउँदै छ भन्ने स्थापित गर्न सक्यौँ भने राजनीतिक पुँजी बढ्छ । राजनीतिक पुँजी बढ्यो भने अर्को वर्ष दह्रोसँग कदम चाल्न सकिन्छ र संरचनात्मक समस्या हल गर्ने बाटोमा जान सकिन्छ’, उनले भने ।

बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उनले बताए । सांसद थापाले बजेट प्रस्तुत गर्नुभन्दा केही महिना अगाडि नै बजेटको सिद्धान्त र प्रातामाथि छलफल गर्ने गरी बजेट कार्यतालिका बनाउनुपर्ने बताए ।