NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

खाण र रायमाझीविरुद्ध तीन मुद्दाको तयारी, हुनसक्छ साढे १२ वर्षसम्म कैद

राज्यसंयन्त्रकै सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा भएको ठगीमा पक्राउ परेकालाई कम्तीमा तीनवटा मुद्दा चलाइने भएको छ । ती मुद्दामा अभियुक्तहरूलाई साढे १२ वर्षसम्म कैद सजाय हुन सक्छ ।

प्रहरीले हाल संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यसमा सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिनेछ सम्भावना रहेको स्रोत बताउँछ । शरणार्थीसम्बन्धी गोप्य प्रतिवेदन नै किर्ते भएको र गृह मन्त्रालयको नामबाट नक्कली शरणार्थी परिचयपत्र जारी भएकाले त्यसमा किर्ते मुद्दा थपिन लागेको हो ।

ठगी मुद्दामा सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ । मुलुकी अपराध संहिताको दफा २५ को परिच्छेद २१ मा ठगीसम्बन्धी कसुरमा हुने सजाय उल्लेख छ । त्यसको दफा ३ (ग) अनुसारको माग दाबी लिने प्रहरीको तयारी छ । जसमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । लिखतसम्बन्धी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

एकै व्यक्तिलाई एकभन्दा धेरै कसुर लगाउँदा जुन कसुरमा धेरै सजाय हुन्छ, त्यही लागू हुन्छ । यस किसमको ठगी र लिखत किर्तेमा सात–सात वर्ष सजाय हुने प्रावधान छ । त्यसमा संगठित अपराधबापत थप ५० प्रतिशत सजाय हुनेछ । संगठित अपराध निवारण ऐन, २०७० मा प्रचलित कानुनअनुसार हुने सजायमा थप ५० प्रतिशत सजाय हुने प्रावधान छ । साथै, सरकारी ओहोदामा बसेर ठगी गर्नेविरुद्ध थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ । सबै अभियुक्तलाई न्यूनतम साढे १० वर्ष कैद सजाय माग गर्ने तयारी प्रहरीले गरेको छ ।

ठगी मुद्दामा बिगो असुल गरी पीडितलाई भराउनुपर्नेसमेत हुन्छ । यो मुद्दामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले फरक–फरक बिगो कायम गरी मुद्दा चलाउने तयारी गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धान जारी रहेकाले पक्राउ परेकाविरुद्ध के–के मुद्दा चल्ने भन्ने अझै टुंगो लागिनसकेको बताए । संगठित अपराधमा ६० दिनसम्ममा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । १२ वैशाखदेखि नै तीन अभियुक्त थुनामा रहेकाले शुक्रबारसम्म ४८ दिन हुन्छ । यसअनुसार अनुसन्धान गर्न प्रहरीसँग करिब १० दिन बाँकी छ । म्याद पुग्नुअघि सरकारी वकिलले पनि फाइल अध्ययन गरी अभियोगपत्र तयार गर्नुपर्ने भएकाले म्याद सकिनु दुई–तीन दिनअघि प्रहरीले रायसहितको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

वरिष्ठ अधिवक्ता तुलसी भट्टले गम्भीर प्रकृतिको मुद्दा भएकाले प्रमाण हेरेर यसमा धेरै मुद्दा आकर्षित हुन सक्ने बताए । ‘यो त मानवताविरुद्धको अपराध हो,’ उनले भने, ‘यसमा मानव बेचबिखनसम्बन्धी कसुर पनि आकर्षित हुन सक्छ ।’

शरणार्थीका नाममा भएको करिब एक अर्बको यो ठगीमा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । त्यस्तै, साथै गिरोहलाई सघाएको आरोपमा खाणका सहयोगी नरेन्द्र केसी र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । बिचौलिया समूहका अन्य सातजना पनि प्रहरी हिरासतमा छन् । एमाले नेता रायमाझीसहित केही फरार छन् । पूर्वगृहमन्त्री नै पक्राउ परेपछि यो प्रकरणले देश तरंगित छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।