NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

झलनाथको चेतावनी : शरणार्थी प्रकरणमा प्रधानमन्त्री नै दोषी भएपनि कारवाही हुनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रधानमन्त्री नै दोषी भएपनि कारवाही हुनुपर्ने बताएका छन् ।

यो प्रकरणको लहरो नेतृत्व पंक्तिसम्म पुगिसकेको भन्दै उनले कारवाही गर्न खुट्टा नकमाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीसम्म पुगेपनि कारवाही अगाडि बढाउनुपर्छ । अन्य देशमा राष्ट्रप्रमुख, प्रधानमन्त्री जेलमा छन् । हाम्रो देशमा प्रधानमन्त्रीले अपराध गरे भने उसलाई छुट दिने कुरा आउँदैन’, नेपालवाच सँगको अन्तर्वार्तामा खनालले भने, ‘वर्तमान सरकारले कारवाही गर्न डराउनुपर्ने अवस्था छैन । ठीक छ, सरकार गिरोस, सरकार गिरे अर्को बन्छ । त्यसर्थ सरकार ढल्छ कि भन्ने डरले प्रधानमन्त्री वा गृहमन्त्री डराउनु हुँदैन । सत्य तथ्य पत्ता लगाएर अपराधीलाई जनताको सामु परिचित गराउनुपर्छ ।’

यसैगरी यसप्रकरणमा अन्य ठूला माछा पनि जालमा पर्न सक्ने सम्भावनाहरू बढिरहेको बेलामा यसलाई ढाकछोप गर्न र बचाउनका लागि कुनै कदम चालिए जनआन्दोलन सुरू हुने र त्यसको नेतृत्व आफूले गर्ने उनले चेतावनी दिए ।

‘ठूला माछा जोगाउन खोजिए देशमा जनआन्दोलनको अर्को आँधी सुरू हुन्छ । म त्यो आन्दोलन गर्न तयार छु । त्यो आन्दोलनको नेतृत्व गर्न झलनाथ खनाल सडकमा जान्छ । यस प्रकारका षड्यन्त्र र भ्रष्टाचारलाई ढाकछोप गर्ने कुनै पनि काम भयो भने त्यो सहन हुँदैन । यो कुरा सरकारल पनि सुनोस् र सम्पूर्ण राजनीतिक पार्टीका नेताहरूले पनि सुनुन्’, उनले भने ।

उनले अहिलेसम्म देशमा जति पनि ‘काण्ड’ भनेर आइरहेका छन्, यी सबै काण्डहरू साफ गर्नुपर्ने जरुरत भएको बताए । भ्रष्टाचारको प्रकरणमा आफैमाथि प्रश्न उठेपनि छानविनमा सघाउन तयार भएको उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष