शीर्ष तीन दलको छलफल सकियो, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पु-याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
‘आज निकै सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो’, मुख्य सचेतक पाण्डेले भने । उनका अनुसार संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्यनिरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो ।
‘संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । सहमतिका साथ संसद अगाडि बढाउनेमा एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ’, उनले भने । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया