NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सांसद रायमाझीको पद निलम्बन हुने

काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दाको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन विचौलियसँग मिलेर पैसा असुल गरेको आरोपमा फरार रहेका उनी आइतबार राति बुढानिलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रायमाझीलाई म्याद थपका लागि सोमबार अदालत लगिँदै छ ।

एमालेका सचिवसमेत रहेका उनी मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका हुन्। उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए सांसद पद निलम्बित हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘सांसद पक्राउ परेको सूचना प्रहरीबाट अहिलेसम्म सचिवालयलाई आएको छैन । प्रहरीबाट त्यस्ता सूचना आएका निलम्बनको प्रक्रिया अगाडि बढ्छ’, गिरीले भने ।

कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। काठमाडौं प्रहरी परिसरले रायमाझीलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजान लागिएको जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा पक्राउ परेका व्यक्तिको बयान तथा प्रमाणका आधारमा रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीमा रहेका उनले प्रहरी अनुसन्धानलाई सघाउने बताएकोमा सम्पर्कमा नआई फरार भएका थिए ।