NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पेट्रोल चोरी पैठारीमा संलग्न ट्यांकर चालकलाई कारबाही

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्यांकरका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैंका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो ।

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ । लु२ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर-भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो ।

आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो ।

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्यांकरले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ ।