NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

‘मोचा’ आँधीले बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

ढाका । बंगालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बंगलादेशमा क्षति पु-याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।

कक्स बजार जिल्लाका डेपुटी कमिस्नर तथा डिस्ट्रिक्ट म्याजिस्ट्रेट शाहीन इमरानले सिन्ह्वालाई बताएअनुसार आँधीले घर र बालीनालीमा क्षति पु-याएको छ र रुखहरु ढलेका छन् ।

अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् । उनले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिका बारेमा आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिए ।

म्यानमारबाट आएका करिब १० लाख रोहिङज्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ । अधिकारीहरूले आँधीका कारण प्रभावित क्षेत्रमा कुनै हताहती नभएको बताएका छन् ।

बङ्गलादेशका विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले कोक्स बजार जिल्लामा प्रभावितलाई सहयोग गर्न पर्याप्त कदम चालेको बताएका छन् । कोक्स बजारको तटीय जिल्ला र सेन्ट मार्टिन टापुसहित यसको अपतटीय टापुहरूमा खतरनाक सङ्केतसहित आँधीले अवतरण गरेको थियो ।

बङ्गलादेशको मौसम विभागका निर्देशक मोहम्मद अजिजुर रहमानका अनुसार सेन्ट मार्टिन टापुमा हावाको गति स्थानीय समयअनुसार आइतबार दिउँसो अधिकतम १४७ किलोमिटर प्रतिघण्टा पुगेको थियो । राजधानी ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय कक्स बजार जिल्लाको सेन्ट मार्टिन टापुमा व्यापक बाढी आएको टिभी फुटेजमा देखिएको छ ।

मोचाले देशको अन्तिम सीमा पार गर्न थालेको छ, यसको आधा भाग म्यानमारतर्फ र बाँकी आधा बङ्गलादेशतर्फ गएको छ । बङ्गलादेशको कक्स बजार र म्यान्मारकोसिट्वेको बीचमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चलेको रहमानले बताए ।

उनले मोचा पहिले नै कमजोर भइसकेको तर बङ्गलादेशको राजधानी ढाकालगायत केही स्थानमा सोमबार पनि मौसम खराब रहने उनले बताए । बङ्गालको खाडीमा माछा मार्ने डुङ्गा, र सामुद्रिक पानीजहाजलाई अर्को सूचना जारी नभएसम्मका लागि सुरक्षित स्थानमा बस्न भनिएको छ ।