भरतपुर कारागारमा औषधि अभाव
चितवन । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
कारागारमा हाल ४९ महिला चार नाबालक/नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए ।
औषधिको चरम अभाव भएपछि १५ लाख माग गरेकामा एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।
दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, ‘किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।’ नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए ।
कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भने, ‘सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।’
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया