NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नक्कली शरणार्थी खडा गर्न कसले कति बुझेका थिए रकम ?

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको प्रहरीको भनाइ छ । तीमध्ये हाल प्रतीक फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना फत्ते गर्न गिरोहका सदस्यले उनीहरूलाई मोटो रकम बुझाएका हुन् । ‘अनुसन्धानबाट प्राप्त सबुत प्रमाण र तथ्यले नक्कली शरणार्थी बनाउने धन्दामा काम गर्ने ग्यारेन्टी गरेर रकम लिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्राप्त तथ्य र प्रमाणलाई आधार बनाएर अनुसन्धान प्रतिवेदन बनाउने तयारी छ ।’

प्रहरी अधिकारीका अनुसार यस प्रकरणमा गिरोहबाट सबैभन्दा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई देखिएका छन् । उनले ५ करोडभन्दा बढी नगद बुझेको तथ्य प्रहरीले संकलन गरेको छ । यस्तै तत्कालीन गृहमन्त्री खाणले १ करोड २३ लाख ५० हजार रुपैयाँ ‘गिफ्ट’ बुझेको भेटिएको छ । उनका स्वकीय सचिव केसीले ५ लाख बुझेको खुलेको छ । केसीले पैसा बुझेको विवरण सचिव पाण्डेको मोबाइलबाट खुलेको हो । तत्कालीन गृहसचिव (हाल प्रधानमन्त्री कार्यालय) पाण्डेले ५० लाख लिएको फेला परेको छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकले १ करोड बुझेको प्रमाण भेटिएको स्रोतले जनाएको छ ।

शरणार्थी प्रकरणमा सुरुदेखिकै मुख्य पात्रका रूपमा देखिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद रायमाझीले किस्ता–किस्तामा गरेर ३ करोड बुझेको प्रमाण रहेको प्रहरीले जनाएको छ । उनका छोरा सन्दीपको बैंक खातामा ४० लाख भेटिएको छ । स्रोतका अनुसार गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीसँग पैसाको डिल गरेको देखिन्छ । त्यसरी प्राप्त भएको रकम उनले छोरा सन्दीपमार्फत व्यवस्थापन गरेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले बताए । गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे ।

सन्दीपले बयानमै ‘व्यावसायिक प्रयोजन’ का लागि आर्थिक कारोबार गरेको उल्लेख गरेका छन् । तर खाताबाट भएको कारोबार नक्कली शरणार्थी प्रकरणसँग जोडिएको तथ्य पुष्टि गर्ने अरू आधार भेटिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका दुवै पूर्वमन्त्रीले गिरोहबाट रकम बुझेको आरोप इन्कार गरेका छन् । उनीहरूले बयानमा जवाफ पनि तौलिएर दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । ‘आरोपितले कसुर सहजै स्वीकार गर्दैनन् । यसमा पनि सार्वजनिक लाभको पदमा रहेकाले यस्तै किसिमको बयान दिएका छन्,’ उनले भने, ‘बयानमा इन्कार गरे पनि प्रमाणले त्यसलाई सहयोग गर्दैन, आरोपितले कसुर गरेका बलिया प्रमाण छन् ।’

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईले काम सम्पन्न गर्ने जिम्मा लिएर रकम बुझेको पोल गिरोहका नाइके दुलाल र भण्डारीले नै खोलेको प्रहरीले जनाएको छ । ‘त्यसलाई पनि पुष्टि गर्ने थप तथ्य र प्रमाण खुलेको छ,’ एक प्रहरी अधिकारीले भने । राईले पनि रकम बुझेको इन्कार गरेका छन् । आरोपितहरूले अहिलेसम्म प्राप्त तथ्य–प्रमाणभन्दा बढी रकम पनि लिएको हुन सक्ने प्रहरीको अनुमान छ । गिरोहलाई रकम बुझाएका सबै प्रहरी सम्पर्कमा पुगेका छैनन् । प्रहरीका अनुसार हालसम्म १ सय ८ जनाको उजुरी परेको छ, जसमा २४ करोडभन्दा बढी रकम उठाइएको उल्लेख छ । प्रहरीले भने यस प्रकरणमा एक अर्बभन्दा बढी असुली भएको अनुमान गरेको छ ।

शरणार्थी बनेर अमेरिका उड्ने प्रलोभनमा रकम बुझाएकाहरूले दिएको उजुरीका आधारमा २०७९ चैत १२ मा दुलाल र भण्डारी तथा टंक गुरुङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । गिरोहका सदस्य सागर थुलुङ राई चैत १५ र सन्देश शर्मा पोखरेल चैत २९ मा समातिएका थिए । उनीहरूकै बयान र थप प्रमाणका आधारमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वमन्त्री खाण, सचिव पाण्डे, पूर्वमन्त्रीका सल्लाहकार राईलगायत पक्राउ परेका हुन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा फरार छन् । तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज अमेरिका र प्रतीक हङकङ भागेको प्रहरीको आशंका छ । दुवैलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।