सिम्रौनगढ नगरपालिकामा नक्कली कार्यसम्पादन प्रतिवेदन बनाएर भ्रष्टाचार
काठमाडौं । बारास्थित सिम्रौनगढ नगरपालिकामा विनियोजन गरेको बजेटलाई आफूखुसी प्रयोग गरिएको पाइएको छ ।
सडकका लागि विनियोजन भएको बजेटको दुरूपयोग गरी हुँदै नभएको कामको नापी किताब र बिलसमेत तयार पारेर भ्रष्टाचार भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठहर गरेको हो ।
उक्त नगरपालिकास्थित बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल निर्माण गर्दा सम्झौता पालना नगरी, नभएको काम हो भन्ने नक्कली कार्य सम्पादन प्रतिवेदन बुझाएको आयोगले जनाएको छ ।
यसरी नक्कली कार्य सम्पादन प्रतिवेदन बुझाएर दश लाख ८ हजार ९६५ रूपैयाँ भन्दा बढी भुक्तानी लेनदेन भएको छ ।
यसबारे मधेश प्रदेशको संसदीय समितिले अनुगमन गरी प्रतिवेदन पेश गरेको थियो । सोही प्रतिवेदन उजुरीमाथि अनुसन्धान हुँदा यसमा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाको संलग्नता भेटिएको छ ।
तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद पयसवाल, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमार, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेश प्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीता कुमारी यादवको संलग्नतामा यस्तो काम भएको पाइएको हो ।
उनीहरू विरूद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कानुलाई दुई लाख ८४ हजार ८३२ र अन्य प्रतिवादीलाई १० लाख आठ हजार ९६५ रूपैयाँ बिगो मागदाबी गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया