भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणबारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।
करिब दुई महिना लगाएर यसमाथि अनुसन्धान गरेको प्रहरीले आइतबार प्रतिवेदन बुझाउने भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता सीताराम रिजालले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए ।
यो प्रकरणमा अन्य व्यक्ति जोडिए पनि समयसीमाका कारण त्यहाँसम्म नपुगेर प्रतिवेदन दिन लागिएको भन्दै आलोचना भइरहेको छ । रिजालले आवश्यक विषयमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेश गरिने बताए ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको अभियोगमा प्रहरीले ०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरी अनुसन्धन गरेको थियो । उनीहरूले दिएको बयान तथा प्रमाणका आधारमा विभिन्न व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई, रायमाझीपुत्र सन्दीपलगायत १६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानमा तानिएर पक्राउ पुर्जी जारी भएका रामबहादुर थापा पुत्र प्रतीक, इन्द्रजित पुत्र निरजलगायत भने हालसम्म फरार छन् ।
यसबारे प्रतिवेदन तयार गरेको प्रहरीले संगठित ठगी, राज्यविरुद्ध संगठित अपराधलगायत अभियोगमा मुद्दा अघि बढाउन सिफारिस गरेको बताइएको छ ।
प्रतिक्रिया