NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सरकारलाई ओलीको चुनौती : सक्कली शरणार्थीको सूची परिवर्तन गर्नेलाई खोज्नुस्

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थीको नाम समावेश गरेर सरकारी प्रतिवेदन नै परिवर्तन गर्ने व्यक्ति खोज्न चुनौती दिएका छन् ।

आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले सरकारी प्रतिवेदनको अनुसूची नै परिवर्तन गरेर नक्कली भुटानी शरणार्थीको नाम परिवर्तन गर्नेको खोजविनबारे प्रश्न गरेका हुन् ।

‘४२९ जना भुटानी शरणार्थी नै थिए । त्यसपछि कागज फेरियो । माथिको कभर चाहीं उही राखियो । तलको व्यक्तिहरूको सूची चाहीं परिवर्तन गरियो,’ उनले भने, ‘परिवर्तन गर्ने को हो ? खोज्नुपर्दैन ? परिवर्नत गर्ने खोजौं न । रहर लाग्या छ एमालेको नाम लिन रहर लागेको छ । केपी ओलीलाई गाली गर्न रहर लागेको छ भनेर..रहर गर्नुमात्रै पनि होइन रहेछ जिन्दगी । पार लाग्दैन ।’

यो घटनामा संलग्नलाई उन्मुक्ति दिने र निर्दोषलाई कारवाही गर्ने काम भइरहेको बताउँदै उनले छानविनमै शंका गरेका छन् । ‘हामी सधैं भ्रष्टाचारको विरुद्धमा छौं । कोही पनि दोषी छुट्न हुँदैन । तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘म खबरदारी गर्न चाहन्छु । दोषी उम्काउने निर्दोष फसाउने यसप्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो भयावाह रुपमा निस्किन्छ ।’