NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी तीन जनाले बनाएका थिए शरणार्थी बनाएर पैसा उठाउने योजना

काठमाडौं ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाउने योजना सुरुमा नेता टोपबहादुर रायमाझी र उनीनिकट बिचौलिया सानु भण्डारीले बनाएको खुलेको छ । त्यसका लागि सर्वसाधारणसँग पैसा नै नउठाई सानुले डेढ करोड लगानी गरेका थिए । त्यो पैसा एडभान्सका रूपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलाई दिएका थिए । रायमाझीकै आग्रहमा त्यसरी आफूले सुरुमा डेढ करोड लगानी गरेको भण्डारीको भनाइ छ ।

गृहले इन्द्रजितकै पहलमा ३० जेठ ०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदल गठनलगत्तै दुई दिनपछि २ असारमा त्रिपुरेश्वरको आँगन रेस्टुरेन्टमा लगेर भण्डारीले इन्द्रजितलाई डेढ करोड बुझाएका थिए । जुन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । पछि राईलाई पटक–पटक गरेर थप चार करोड दिइएको थियो ।

सुरुमा भण्डारी र रायमाझीले सल्लाह गरेकोमा पछि इन्द्रजित यो योजनामा थपिएको प्रहरी निष्कर्ष छ । भुटानी शरणार्थीको स्थायी समस्या समाधानका लागि भनेर कार्यदल गठन भएकोमा त्यसमा नेपालीहरूको नाम थप्ने योजना बनेको थियो । जसमा बिचौलियाकै सिफारिसमा गणेशबहादुर केसी सदस्य भए । तर, नाम थप्न भने राई सफल भएनन् । सोही कारण गृह मन्त्रालयमै एकपटक झगडासमेत भएको थियो । जुन कुरा रायमाझीकै बयानमा समेत उल्लेख छ । पछि यो प्रकरणमा पैसा उठाउन विभिन्न बिचौलिया थपिएका थिए । साथै, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई पनि रायमाझीले नै नियुक्त गरेको पुष्टि भएको छ ।

बयानमा मियाँले भनेका छन्, ‘म हज समितिको अध्यक्ष पदमा टोपबहादुर रायमाझीसमेतको सिफारिसमा नियुक्त भएको हुँ ।’ टोपबहादुरकै निर्देशनमा उनले गृहको गाडी बिचौलियालाई प्रयोग गर्न दिएका थिए । सोही गाडीमा पैसा ओसारपसारदेखि पीडितहरूको विवरण संकलनसम्मका काम भएका थिए । मियाँ पनि हाल मतियारका रूपमा थुनामै छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि चार वर्षअघि नै यो विषयमा टोपबहादुर रायमाझी झापा आएको र त्यसवेला उनीसँग चिनजान भएको बताएका छन् । आफूलाई सानु भण्डारी र केशव दुलालले रायमाझीसँग भेट गराएको उनको भनाइ छ । यो प्रकरणमा सबैभन्दा धेरै पैसा बुझाउने भण्डारी थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।