NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पशु चिकित्सकलाई चुनाव लाग्यो, कसले लेला शीतलकाजीको ठाउँ ?

काठमाडौं । पशु चिकित्सकहरूको हक, हितका खातिर स्थापित नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को राष्ट्रिय अधिवेशन तथा वार्षिक साधारणसभा आजदेखि सुरु हुने भएको छ ।

संघीय राजधानी काठमाडौंमा आजदेखि सुरु हुने अधिवेशन शनिबारसम्म चल्ने र यसले आगामी नेतृत्व चयन गर्ने एनभिएले जनाएको छ ।

पछिल्लो तीन कार्यकाल एनभिएको अध्यक्षको भूमिकामा डा. शीतलकाजी श्रेष्ठ छन् । एनभिएको विधानमा एकै व्यक्ति तीन कार्यकालभन्दा बढी रहन नपाउने प्रावधान भएकाले नेतृत्वबाट यस पटकदेखि उनी बिदा हुँदैछन् । एनभिएमा एकछत्र राज गरेका डा. श्रेष्ठ विधानतः दोहोरिन नमिल्ने भएपछि यसको भावी नेतृत्वलाई लिएर चासो व्यक्त हुन थालेको छ ।

एनभिएका अनुसार, देशभरका करिब २ हजार पशु चिकित्सक यसका सदस्य छन् । सर्वसम्मत नभई निर्वाचन भएको खण्डमा यिनै सदस्यले मतदानमार्फत अध्यक्षलगायत पदाधिकारी र सदस्य चयन गर्नेछन् ।

क–कसको पर्यो उम्मेदवारी ?

एनभिएको आगामी नेतृत्वका लागि चुनाव हुने भएपछि आकांक्षीहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदवारी सार्वजनिक गर्नेमा केही पुराना अनुहार छन् भने केही नयाँ ।

अध्यक्षमा डा. रामकृष्ण खतिवडा र डा. कृष्ण काफ्ले आमनेसामने भएका छन् । खतिवडा एनभिएको एक कार्यकाल अध्यक्ष चलाइसकेका व्यक्ति हुन् । काफ्लेचाहिँ वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

अध्यक्षका आकांक्षी दुवै उम्मेदवार आफ्नो पल्लाभारी गर्नेगरी रणनीतिमा जुटेका छन् । अध्यक्षका आकांक्षी काफ्लेले युवामाझ आफू लोकप्रिय रहेकाले त्यसैलाई जितको आधार बनाएका छन् । पशु चिकित्सकको हकहितको सवालमा निरन्तर आवाज उठाउँदै आएकाले यसको पनि मूल्यांकन हुने अपेक्षा उनले गरेका छन् । पशु स्वास्थ्य सेवा परिषद् ऐनको विवाद चरमोत्कर्षमा रहेका बेला एनभिएले गरेको आन्दोलनको अग्रमोर्चामा उभिएर काफ्लेले भूमिका निर्वाह गरेका थिए । काफ्ले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत हुन् ।

खतिवडा पनि उत्तिकै बलिया उम्मेदवार हुन् । पशुसेवा विभागको पूर्वउपमहानिर्देशकसमेत रहेका खतिवडा सरकारी सेवामा रहेका पशु चिकित्सकमाझ चिरपरिचित छन् । जानकारहरू उनलाई यहाँबाट राम्रो मत आउनसक्ने बताउँछन् ।

 

त्यसैगरी उपाध्यक्षमा डा. अषेश भट्टराई र र डा. अर्जुन अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । भट्टराई वर्तमान वर्तमान कार्य समितिका महासचिव हुन् भने अर्याल निजामतीतर्फका सरकारी कर्मचारी हुन् ।

निकै प्रभावशाली मानिने महासचिवमा डा. केदार सुवेदी र डा. योगेन्द्रराज पन्तबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी, सचिवमा डा. हरि पन्त र डा. शंकर न्यौपाने, कोषाध्यक्षमा डा. उमेश मण्डल र डा. शीकेष मानन्धरले उम्मेदवारी घोषणा गरेका छन् ।

केन्द्रीय समितिको सदस्यमा हालसम्म ११ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेमा डा. नवीन पन्थी, डा. सुमित शर्मा, डा. प्रकाश अधिकारी, डा. सत्रुघन शाह ,डा.मलिशा श्रेष्ठ, डा.सम्राट श्रेष्ठ, डा.जनक मजाकोटी, डा.निकेष खनाल, डा.रिकेष श्रेष्ठ, डा. सुशील कुमार राय र डा. लोकेन्द्र न्यौपाने छन् ।

ताजा अपडेट

नेपालवाच विशेष