NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संसद बैठक सुचारू गर्न सभामुख सक्रिय, प्रधानमन्त्रीबाट आउला त जवाफ ?

काठमाडौं । सभामुख देवराज घिमिरे अबरूद्ध भएको प्रतिनिधिसभा बैठक सुचारू गर्न सक्रिय रहेका छन् ।

निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दिएको अभिव्यक्तिलाई लिएर आइतबार एमालेसहित विपक्षी दललहरूले सदन अवरोध गरेका थिए ।

नागरिकता विधेयक र प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाति भएको भन्दै एमाले, रास्वपा र राप्रपाका सांसदहरूले प्रधानमन्त्रीबाट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने अडान कायमै राखेपछि सभामुख घिमिरेले अवरूद्ध बैठक सुचारू गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन वार्ता गरेको सभामुखको सचिवालयले जनाएको छ ।

घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बैठक अवरोध भएपछि सभामुखले आइतबार नै प्रधानमन्त्रीसँग टेलिफोन वर्ता गरेका थिए । सभामुखसँगको वार्तापछि प्रधानमन्त्रीले एमालेसहितका दलहरूसँग छलफल गरेर संसदलाई जवाफ दिने बताएका छन् ।

घिमिरेले हिजो नै कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा लगायत दलहरूका प्रमुख सचेतकसँग संसदको अवरोध हटाउन छलफल गरेका थिए ।

प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले विपक्षी दलबाट संसद अवरोध भएको प्रधानमन्त्री गम्भीर रहेको बताए । अवरूद्ध संसद बैठक सुचारू गर्न प्रचण्डले सोमबार संसदलाई जवाफ दिने उनको भनाइ छ । यसैगरी संसद बैठक सुचारू गर्ने विषयमा सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग पनि छलफल गरेका छन् ।

‘विपक्षी दलबाट अवरोध भएको बैठक सञ्चालन गर्ने विषयमा म सभामुखसँग छलफलमै छु । सदन कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको छ’, उनले भने ।

विपक्षी दलहरूले संसद अवरोध गरेपछि बजेटमाथिको छलफलको कार्यतालिका प्रभावित भएको छ ।