NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : ‘प्रोटोकल’ मिचेर भेटवार्तामा छोरीलाई राख्दा, मन्त्री र सचिवहरू कहाँ थिए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चारदिने भारत भ्रमण उपलब्धीपूर्ण भएकोमा निकै उत्साहित देखिन्थे । जेठ १७ गतेदेखि २० सम्म भएको भ्रमणमा सीमापार पेट्रोलियम पाइपलाइन विस्तार, दीर्घकालीन उर्जा व्यापार, क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) लगायत सहमतिलाई उनले उपलब्धी मानेका छन् ।

तर उनको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रतिनिधिसभा बैठकमा विपक्षी एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको झाँको छारे । भ्रमणको उपलब्धी र सदनमा उठेका विषयमा सोमबार रोष्टमा आएका प्रधानमन्त्रीलाई विपक्षी सांसदहरू र्याखर्याख्ती पारे ।

सदनसामु प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले कुनै राष्ट्रघात नगरेको र नागरिकता विधेयक अघिल्लो सरकारले ल्याएकोमा हुबहु रहेको जिकिर गरे । तर सांसदहरूले विधेयकको विषयवस्तुमा कुनै विवाद नझिके पनि प्रक्रियाको विषयमा प्रधानमन्त्रीमाथि निकै आक्रोस पोखे ।

यसैगरी, सांसदहरूले कालापानी क्षेत्रको सट्टापट्टा, भ्रमणको प्रोटोकल, उर्जा व्यापारमा भएको सहमति, तराई क्षेत्रको डुवान, भारतको संसदमा राखिएको अखण्ड भारतको नक्सादेखि नेपाललाई उपलब्ध गराइएको १५ वटा मुर्रा जातिको राँगाको विषयलाई लिएर प्रधानन्त्रीको चर्को आलोचना भयो ।

संसदमा चौतर्फी दबाबमा रहेका प्रचण्ड दोस्रोपटक जवाफ दिन रोष्टमा आए । तर सांसदहरूले उनलाई बोल्नै नदिइ होहल्ला गरे । केहीबेर संसद सञ्चालन गर्न सभामुखलाई नै हम्मेहम्मे परेको थियो । प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिएपछि विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखसँग बोल्ने समय मागे ।

ओलीले भारत भ्रमण भद्रगोल भएको, सार्वभौम संसदको दुइतिहाइले पास गरेका कालापानी क्षेत्र साट्न खोजेकोलगायत आरोप लगाए ।  उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताए ।

‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ । बंगलादेश जाने बाटो या पारवाहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो,’ ओलीले भने ।

यसैगरी सार्वभौम संसदको अधिकारक्षेत्र मिचेर नागकिरता विधेयक प्रमाणीकरण भएको सरकारको चर्को आलोचना गरे । पुरानो संसदले पारित गरेको विधेयक नयाँ संसदमा बहस र छलफल हुन नसक्ने उनको तर्क थियो ।

‘विधेयकमा विषय के थियो त्यसमा प्रश्न उठाउन खोजिएको होइन । प्रक्रियाको विषयमा प्रश्न उठाएको हो । पुरानो संसदले पारित गरी मरिसकेको विधेयक नयाँ संसदले चिन्दैन । विधेयक जहाँबाट उत्पत्ति भएको हो, त्यहिँ छलफल हुनुपथ्र्यो’, प्रश्न उठाउँदै उनले भने, ‘तर सरकारले हतारमा राष्ट्रपतिबाट प्रमाणीकरण गर्न लगायो । संसदमा नयाँ सांसद आएको छन्, उनीहरूले पुरानो विधेयक चिन्छन् ? भारत भ्रमणकै दिन किन प्रमाणीकरण गर्नुपर्यो ? मंसिरमा किन भएन ? प्रधानमन्त्रीलाई के आपत आइलाग्यो ?’

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमण प्रोटोकल मिचिएकोमा आपत्ति जनाए । प्रधानमन्त्रीको भ्रमण अहिलेसम्मको फितलो र भद्रगोल भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूको भ्रमण राजनीतिक होकि ? धार्मिक होकि ? वा पारिवारिक के हो ?’, उनले भने, ‘प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री हुनुपर्नेमा उनी कता गए ? अर्थमन्त्री कता थिए ? अन्यमन्त्री र सचिवहरू कता गए ? जतापनि प्रधानमन्त्रीको छोरी झुल्किएकी छिन् । प्रचण्ड माओवादीका अध्यक्ष होइन। देशका प्रधानमन्त्री हुन् । यस्तो भद्रगोल भ्रमण यसअघि भएका थिएनन् ।’

ओलीले भारतको ऐतिहासिक साँस्कृतिक शहर उज्जैन भ्रमण र उन्नत जातका १५ वटा मुर्रा राँगो पाएकोमा समेत व्यङ्य गरे ।