NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बाबुरामको नजरमा मुख्य दल : कांग्रेसले समयानुकुल रूपान्तरण गर्न सकेन, कम्युनिस्टको भविष्य छैन

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस परम्परागत दलको प्रमुख शक्ति भएपनि आफूलाई समयानुकुल रूपान्तरण गर्न नसकेकाले खुम्चिँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गरेको प्रतिवेदनमा नेपालको राजनीतिक दलहरूको अवस्थाबारे उनले चित्रण गरेका हुन् ।

कांग्रेसले आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ भने पनि कांग्रेसको मूल चरित्र पूँजीवादी उदारवादी लोकतान्त्रिक भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘२००७ सालदेखि लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको हुनाले यसको समाजका सबै वर्ग, जाति, समुदायमा उल्लेख्य पहुँच छ । पछिल्लो चरणमा यसले आफूलाई समयानुकूल रूपान्तरण गर्न नसकेको हुनाले शक्ति खुम्चिँदै गएको छ’, प्रतिवेदनमा उल्लेख छ ।

नेपालको पिछडिएको अर्थ-राजनीतिक धरातल र बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त परिवेशमा यसले मूलतः अनुसरण गर्ने पुँजीवादी उदारवादी नीतिबाट देशको संरचनात्मक समस्या हल हुन असम्भव भएको उनको उनको टिप्पणी छ ।

यसैगरी एमाले, माओवादीलगायत वामपन्थी दलहरूलाई साम्यवादी धार भएको भएपनि त्यो चरित्र कुनै दलमा पनि नदेखिएको उनले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना नेपाल कम्युनिस्ट पार्टी’ का विभिन्न चिराहरू यो धारमा पर्ने उनको टिप्पणी छ ।

तीमध्ये एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय दलहरू भएपनि मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधारालाई आफ्नो मार्ग विचार आत्मासात गरेको भट्टराईको बुझाइ छ ।

जनवादी केन्द्रीयतालाई संगठनात्मक सिद्धान्त र जनवादबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने आफ्नो आफ्नो राजनीतिक अभीष्ट मान्ने गरेको उल्लेख छ । केहीले बाहेक सबैले संसदीय बाटोबाटै अघि बढ्ने प्रयत्न गरिरहेकाले भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तरविरोधले उनीहरूलाई लामो समयसम्म टिक्न दिँदैन भन्ने अन्तर्राष्ट्रिय अनुभवले देखाएको टिप्पणी गरेका छन् ।

उनले बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै अवस्थामा कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने तर्क गरेका छन् ।

यस्तो छ केन्द्रीय समिति बैठकमा बाबुरामले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन :