राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन् ।
पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहज रूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गरे ।
सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उनले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।”
नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उनले बताए । आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उनको भनाइ छ । “नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हुँदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उनले भने, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुसी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु ।”
अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गरे । उनले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताए ।
ताजा अपडेट
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
-
डेंगु संक्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान
-
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
-
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
प्रतिक्रिया