NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी, महासचिवमा एलन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा जित निकालेका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए ।

अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

यसैगरी, खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।

उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरे ।

उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भएका छन् । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही, र पूर्णबहादुर कार्की विजयी भएका छन् ।

यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित) मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भएको निर्वाचन कमितिले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भए । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिएका थिए ।