NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रचण्ड–ओलीको तीर्थाटन : धार्मिक कि धर्म राजनीति ?

काठमाडौं । धर्मलाई अफिम मान्ने माक्र्सवादी विचारधाराबाट प्रभावित नेपाली कम्युनिस्ट नेताहरू पछिल्लो समय तीर्थाटनमा व्यस्त देखिन्छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरूको लावालस्करसहित हिन्दूहरूको आराध्यदेव पशुपतिनाथको दर्शनमा निस्किए । प्रधानमन्त्री प्रचण्डले पशुपतिको दर्शन गरेको फोटो/भिडियो अहिले सामाजिक सञ्जाल र मिडियामा निकै भाइरल भएको छ ।

यसअघि कहिल्यै पशुपति नटेकेका उनी र मन्त्रीहरूलाई मूल पूजारी गणेश भट्टले रुद्राक्षसहित फूलमाला र टीका लगाएर स्वागत गरे । पशुपतिको दर्शनपछि उनले ५१ हजारको भेटी चढाए । पूजारी र पशुपति विकासकोषका पदाधिकारीसँग पूजा विधि र त्यहाँको अवस्थाबारे जानकारी लिए ।

प्रचण्डका साथमा पर्यटन तथा सँस्कृतिमन्त्री सुदन किराती, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश लेखक थिए । भौतिकवादमा विश्वास गर्ने प्रचण्डको पशुपति दर्शनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणको क्रममा उनले उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन र पूजा गरेको विषयले निकै चर्चा पायो । त्यतिबेला कम्युनिस्ट नेताको रूपमा महाकालेश्वरमा गेरुवस्त्र लगाएर पूजा गरेपछि पार्टीभित्र र बाहिर उनको निकै आलोचना भएको थियो । पूजापाठको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि उनले आफूले निजी तथा पारिवारिक पूजापाठ नगरेको स्पष्टीकरण दिए । बुहसंख्यक हिन्दूहरूको सम्मानका लागि कार्यक्रममा सहभागी भएको प्रचण्डले जिकिर गरे । भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै उनी योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, शिद्धबाबा कृष्णदाससँगै धार्मिक पर्यटकीय स्थल खप्तड गएका थिए ।

तर पशुपतिको दर्शन गर्ने प्रचण्ड पहिलो प्रधानमन्त्री होइनन् । पशुपतिनाथमा गएर ‘संकल्प’ पूजा गर्ने ओली पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् । १२ माघ, २०७७ सोमबारका दिन उनले सवा लाख दीप प्रज्वलन गरी विशेष पूजा (संकल्प) गरेका थिए । सुनको जलाहरी राख्न ३० लाख दिने घोषणा गरेका थिए । त्यतिबेला ओली पशुपति तीर्थाटनमा निस्किए जतिबेला प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधि घोषणा गरेका थिए । ओली सरकारकोविरूद्ध तत्कालीन नेकपाभित्र प्रचण्ड–माधव सडक संघर्षमा थिए । पछिल्लो समय पूर्वीय दर्शन, सभ्यता र संस्कारबारे प्रवचन दिँदै आएका ओलीले राम, सीता र हनुमानको मूर्ति नै बनाउन लगाएर प्रधानमन्त्री निवास बालुवाटारबाट चितवनको अयोध्यापुरी रथयात्रा चलाएका थिए । झापा विद्रोहबाट कम्युनिस्ट राजनीतिमा उदाएका ओली त्यसअघि कहिल्यै पशुपति गएर दर्शन गरेका थिएनन् ।

२०६२/६३ को जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्रलाई ढाल्यो । २०६५ मा विधिवत रूपमा धर्म निरपेक्षतामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । त्यसलाई २०७२ को संविधानले लिपिबद्ध गरेको हो । त्यसपछि सरकारले कुनै पनि धर्मको पक्षपोषण नगर्ने नीति लिएको छ । सरकार सबैको अभिभवक भएकाले सबै धर्म, संस्कृति र सम्प्रदायलाई समान नजरले हेर्ने दृष्टिकोण अंगिकार गर्दै आएको छ । सबैलाई आ–आफ्ना धर्ममा आस्था राख्न पाइने स्वतन्त्रता संविधानले दिएको छ । तर जीवनको उत्तारार्धमा प्रचण्ड र ओलीको तीर्थाटनलाई कुटनैतिक भन्न नमिल्ने माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेको बुझाइ छ । शीर्ष कम्युनिस्ट नेताहरू तीर्थाटन भौतिकवादी दृष्टिकोणबाट टाट पल्टिएको उनले आरोप लगाए ।

‘गेरू बस्त्र लगाएर योजनाबद्ध पूजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पूजारीको पाउ समातेर पुण्य गरेको ठान्नु सामान्य धार्मिक कुटनैतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैयनमा गेरूबस्त्र लगाएर गरेको पूजापाठलाई जीवनकै नमिठो अनुभुति भएको टिप्पणी गरेका छन् । मोदीले कम्युनिस्ट नेताहरूलाई नाङ्गै बनाएको देख्दा स्खलनको यो मात्राले जिन्दगीमा निकै नमिठो अनुभुति गरेको उनले बताए ।
यसैगरी वाम विश्लेषक श्याम श्रेष्ठले धर्मनिरपेक्ष राज्यमा राष्ट्रपति र प्रधानमन्त्री कुनै धर्म विशेषको नहुने भन्दै कम्युनिस्ट नेताहरूको तीर्थाटनले आफूहरू कम्युनिस्ट नभएको संदेश दिएको बताए । कम्युनिस्टहरू भौतिकवादमा विश्वास गर्ने हुँदा कुनै धर्म वा कुनै सम्प्रदायको साहारा लिनु राजनीतिक स्खलनबाहेक अन्य केही नभएको उनको भनाइ छ ।

‘धर्मनिरपेक्ष राज्यमा राष्ट्रप्रमुख र प्रधानमन्त्री कुनै धर्म विशेषको हुन सक्दैन । नेपालको संविधानले पनि कुनै धर्म विशेषलाई अंगिकार गरेको छैन । सबै धर्म र समूदालयलाई आ–आफ्नो धर्ममा आस्था राख्न स्वतन्त्रता दिएको छ । सरकार सबैको अभिभावक भएकाले सबै धर्म र आस्थामाथि समान व्यवहार गर्छ’, उनले भने, ‘पछिल्लो समय कम्युनिस्ट नेताहरूको तीर्थाटनले म कम्युनिस्ट होइन है भन्ने सन्देश दिएका छन्, यो राजनीतिक र वैचारिक विचलन हो ।’

श्रेष्ठले ओली र प्रचण्डको तीर्थाटन भारतका प्रधानमन्त्री मोदीबाट प्रभावित भएको हुनसक्ने बताए । हिन्दू धर्मका कट्टर अनुयाई रहेका मोदी बहुसंख्यक हिन्दूहरूको भोटमा एक दशक प्रधानमन्त्री भए, नेपाल पनि हिन्दूहरूको बाहुल्य देश भएकाले त्यसको प्रभाव ओली र प्रचण्डलाई परेको हुनसक्ने उनको बुझाइ छ ।

ओली र प्रचण्ड गणतन्त्र स्थापाना पछि तीन÷तीन पटक कम्युनिस्टबाट प्रधानमन्त्री भए । यी दुवै व्यक्तिको राजनीतिक पृष्ठभूमि पनि समान खालको छ । यी दुबै कम्युनिस्टका संस्थापक नेता पुष्पलालबाट प्रभावित भएका नेता हुन् । ओली २०२८ सालको झापा विद्रोहबाट कम्युनिस्ट आन्दोलनमा लागेका नेता हुन् । उनी १४ वर्ष कठोर जेल जीवन विताएका नेता हुन् ।

प्रचण्ड पुष्पलाल समूह, मशाल हुँदै र माओवादी आन्दोलनका सुप्रिमो कमाण्डर हुन् । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा नेपालमा १० वर्ष लामो सशस्त्र विद्रोह भएको थियो । नेपालमा संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रिक गणतन्त्र आफ्नै एजेण्डा भएको उनले दाबी गर्दै आएका छन् । २०६५ मा प्रधानमन्त्री हुँदा पशुपतिमा मूल भट्ट परिवर्तन गरेर विवादमा आएका प्रचण्डले १६ वर्षपछि पशुपतिको दर्शनमा निस्किएका हुन् ।

देशका प्रधानमन्त्रीले मन्दिर, गुम्बा, चर्च र मस्जिदमा गएर दर्शन गर्नु वा धार्मिक समारोहमा सहभागी हुनु नयाँ विषय होइन । राष्ट्रपति वा प्रधानमन्त्रीले आफ्नो आस्था अनुसार पूजापाठ गर्न पाउने अधिकार संविधानले सुनिश्चि गरेको छ । ओली र प्रचण्डले पहिला माक्र्सवादले धर्म नचिन्ने जस्ता व्यवहार देखाएकाले बढी आलोचित भएका हुन् । आफ्ना नेता तथा कार्यकर्तालाई मन्दिर नै जान हुँदैन, धर्म अन्धविश्वास र रुढीवादको चरित्र हो जस्ता प्रशिक्षण गर्दै माक्र्सवाद सिद्धान्तलाई अंगिकार गर्न प्रेरित भएकाले नेताहरूको गराइ र व्यवहार फरक पर्न गएकाले ओली–प्रचण्ड ओलोचित भएका हुन् ।