NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ओलीलाई भेटेपछि वामदेव उत्साहित : के-के भयो कुराकानी ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि वामदेव गौतम निकै उत्साहित देखिएका छन् ।

आइतबार ओलीलाई भेट्न गौतम एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुगेका थिए । झण्डै एक घण्टा लामो कुराकानीमा उनले आफू एमालेमा फर्किन निकै आतुर भएको भन्दै ओलीसँग  नेता तथा कार्यकर्ता व्यस्थापनसहितको प्रस्ताव राखेका थिए । उनको प्रस्तावप्रति ओलीले सकारात्मक प्रतिक्रिया दिँदै पहिला गौतमलाई एमाले फर्किन आग्रह गरिएको एक नेताले जानकारी दिए ।

‘उहाँ निकै प्रफुल्ल मुद्रामा अध्यक्षज्यूलाई भेट्न आउनुभएको थियो । आफू पहिल्यै एमाले फर्किन तयार भएको र नेता तथा कार्यकर्ताको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । जवाफमा अध्यक्षज्यूले पहिला तपाईं पार्टी काममा फर्किनुहोस्, त्यसपछि नेता तथा कार्यकर्ताको व्यवस्थापन गरौंला भन्नुभयो’, ओलीको भनाइ उदृद्ध गर्दै ती नेताले भने । एमालेले ७० वर्षको उमेरहद सम्बन्धी व्यवस्था विधानबाट निलम्बन गरेकोमा उनले खुशी व्यक्त गर्दै उनले उक्त निर्णय आफ्नै लागि गरिएको अध्यक्ष ओलीले घोषणा गर्नुपर्ने सर्त राखेका थिए ।

ओलीसँगको भेटपछि गौतमले प्रतिक्रिया दिँदै नेता तथा कार्यकर्ताको व्यवस्था भए आफू तत्काल एमाले फर्किने बताए ।

‘ओलीजी र मेरो आजको भेट सकारात्मक भएको छ । दुई जनाबीच खुलेर गफ भयो । हाम्रो पार्टीको नेता तथा कार्यकर्ता व्यवस्था भए म तत्काल एमाले फर्किन्छु भनेको छु । मेरो प्रस्तावमा उहाँ सकारात्मक हुनुहुन्छ । छिट्टै बैठक बसेर नेता तथा कार्यकर्ता व्यवस्थापनको तयारी गर्नेछौं’, उनले भने ।

तत्कालीन नेकपा विघटनपछि अलग भएका गौतम ओली र प्रचण्ड–माधव कुनै समुहमा नगइ नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए । पछिल्लो समय नेकपा एससँग नजिकिएका उनी पार्टीको मार्गदर्शक सिद्धान्त जबज राख्न नमानेपछि पुनः टाढिएका थिए । यसैगरी प्रचण्डको नेतृत्वमा भोलि हुन लागेको माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चामा समाहित हुने चर्चाकाबीच उनी ओलीलाई भेट्न गएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष