NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर यादवमाथि १ करोड बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

यादवविरुद्ध १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ विगो दाबी गरिएको छ । यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४८ फागुन ९ देखि अवकाश पाएको मिति २०७९ जेठ ९ सम्मको अवधिको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा अधिकतम १ करोड ७१ लाख ४६ हजार रुपैयाँ आर्जन गर्नसक्ने भएपछि ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ ।

आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ । आयोगले स्रोत नखुलेको सम्पत्ति जफथ गर्न समेत माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

त्यस्तै, आयोगले हाल पोखरा महानगरपालिका– १८ साविक सराङकोट गाविसको करिब छ रोपनी सार्वजनिक जग्गा मिचेर नक्शा पास गरी घर निर्माण गरेको अभियोगमा तत्कालीन गाविस अध्यक्षसहित छ जनाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गरी बढिबढाउ बोलपत्र आह्वान गरी व्यक्तिलाई दिइएको पाइएको छ । तत्कालीन गाविसका जिम्मेवार अधिकारीले नै स्थानीय दिलबहादुर गुरुङलाई सरकारी जग्गा दिएको अनुसन्धानबाट खुलेको छ । सरकारी जग्गा हो भन्ने जानीजानी व्यक्तिगत लाभ प्राप्त गर्ने नियतले गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएको छ ।

सरकारी जग्गामा स्थायी संरचनासमेत निर्माण गरिएको छ । आयोगले तत्कालीन गाविस अध्यक्ष मोदनाथ रेग्मी र झपटबहादुर थापा, तत्कालीन वडा सदस्य एमबहादुर थापा, तत्कालीन गाविस सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर थापा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध समान रु एक करोड ५० लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।