लोकसेवामा आरक्षित कोटाको लाभ पाउनेहरूको खुलातर्फ पनि बलियो उपस्थिति
काठमाडौं । लोकसेवा आयोगमा आरक्षित कोटाको लाभ पाउने समूहका व्यक्तिहरूले खुलातर्फबाट बलियो उपस्थिति बनाएको देखिएको छ । गत ६ वर्षमा आरक्षण समूहबाट नौ हजार आठ सय २९ को संख्यामा सिफारिस भएका छन्, जब कि त्यही अवधिमा उनै समूहका नौ हजार ३१ जना खुलाबाट सिफारिस भएका छन् । यसले आरक्षित समूहहरू खुलातर्फ पनि सक्षम हुँदै गएका देखाएको छ ।
आयोगको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७८/७९ मा समावेशीबाट एक हजार २३ जना सिफारिस हुँदा उक्त सुविधा पाउने समूहका ६ सय २५ जना खुलाबाटै सिफारिस भएका छन् । त्यस्तै, आव ०७७/७८ मा २० जना समावेशीबाट सिफारिस हुँदा सोही समूहमा पर्ने १२ जना खुलाबाट सिफारिस भएर आएका छन् ।
यस्तै, आव ०७६/७७ मा एक सय तीनजना समावेशी र ३५ जना खुलाबाट सिफारिस भएका छन् । यसैगरी, आव ०७५/७६ मा एक हजार आठ सय ३९ समावेशी र खुलाबाट एक हजार तीन सय ७५ सिफारिस भएका छन् ।
आव ०७४/७५ मा समावेशीबाट दुई हजार पाँच सय ७८ र खुलाबाट तीन हजार दुई सय ४४ सिफारिस भएका आयोगको तथ्यांक छ । आव ०७३/७४ मा समावेशीबाट चार हजार दुई सय ६६ सिफारिस हुँदा आरक्षण सुविधा पाउने समूहकै तीन हजार सात सय ४० जना खुलाबाट सिफारिस भएका छन् ।
सीमान्तकृत समुदायको सशक्तीकरणका लागि राज्य संयन्त्रमा सहभागिता अभिवृद्धि गर्न नेपालले आव ०६४/६५ देखि सरकारी सेवामा समावेशी पदपूर्तिको व्यवस्था कार्यान्वयन गर्दै आएको छ । संविधानले निर्दिष्ट गरेबमोजिम निजामती सेवा ऐन, २०४९ ले निजामती सेवाका लागि लोकसेवाले लिने परीक्षामा आरक्षणको कोटा तोकिदिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया