NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जसपा विधान अधिवेशन : ७० वर्ष पुगेका  व्यक्ति उम्मेदवार बन्न अयोग्य

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले जारी विधान अधिवेशनमा ७० वर्षे उमेरहदको व्यवस्था राखेको छ ।

अध्यक्ष उपेन्द्र यादवले पेश गरेको विधान मस्यौदाको धारा ८६ मा ७० वर्ष उमेर भएका पदाधिकारी केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समितिमा निर्वाचित हुन वा मनोनित हुन नपाउने उल्लेख छ ।

यसैगरी सबै समितिमा पदाधिकारीको हैसियतले कार्यरत एकै व्यक्ति दुई कार्यकाल वा १० वर्ष भन्दाबढी कार्यरत भए सोही पदमा पुनः उम्मेदवार हुन नपाउने उल्लेख छ ।

अहिले यादवले पेश गरेको विधान मस्यौदामाथि समूहगत छलफल भइरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरू भएको विधान मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकाअनुसार १० वटा समूहले आज आ–आफ्नो टोली नेता चयन गर्नेछन्। समूहगत छलफलबाट आएको सुझाव टोली नेताले मंगलबार बन्दसत्रमा प्रस्तुत गर्नेछन् ।

आएको सुझावसहित दफावार छलफल गरेर भोलि नै छलफल टुंग्याउने उनले बताए । छलफलमा भाग लिन केन्द्रीय समिति, प्रदेश समिति, भातृसंगठन गरी ८०० प्रतिनिधि सहभागी रहेका छन् ।